आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘शिवांश’को ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लम्बाइको ट्रेलरले साधुको भेषमा आपराधिक क्रियाकलापमा संलग्न पात्रको कथा पेश गरेको छ । ट्रेलरको केन्द्रमा अभिनेता प्रवीण खतिवडा छन्, जो साधुको भेषमा दैवी शक्ति प्राप्तिको लागि अपराध गरिरहेका देखिन्छन् ।
साधु वा जोगीको आवरणमा कतिपय व्यक्ति कसरी अपराध गरिरहेका हुन्छन् भन्ने यथार्थलाई ट्रेलरले उजागर गरेको छ । ट्रेलरमा एउटा दिव्य शिला (ढुंगा)लाई शक्तिको प्रतीकका रूपमा देखाइएको छ, जसले फिल्मको कथा दैवी शक्तिमा आधारित रहेको प्रस्ट पार्छ । फिल्मले पौराणिक कथालाई आधुनिक यथार्थसँग जोडेर प्रस्तुत गरेको संकेत पनि ट्रेलरले दिएको छ ।
यो फिल्मको विशेष पक्ष भनेको भारतीय गायक कैलाश खेरको स्वर हो । ट्रेलरको सुरूवात नै उनले गाएको ‘शिव ताण्डव’ गीतबाट हुन्छ, जसले दर्शकलाई आध्यात्मिक भावमा डुबाउँछ । साथै, छायांकन, पृष्ठभूमि संगीत र भीएफएक्सले फिल्मलाई स्तरीय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । आध्यात्मिक कथा मन पराउने दर्शकका लागि यो फिल्म रुचिकर बन्ने देखिन्छ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस फिल्मका निर्देशक सन्तोष कुमार आत्रेय हुन् । अञ्जान केसी निर्माता रहेको फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विमला लिम्बू, विकाश जोशी, प्रदीप कुमार चौधरी, उदय कुमार सुब्बा, टीका निरौला लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा सरद महतोको डीओपी छ ।

