
गत कात्तिकमा प्रदर्शन भएको फिल्म ‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’पछि नेपाली फिल्मका गीतहरू दर्शकमाझ उत्ति लोकप्रिय हुन सकेका थिएनन् । यो शून्यतालाई लभस्टोरी फिल्म ‘कुमारी’को ‘डोको बुन्ने निगालो चोयाले’ गीतले परिपूर्ति गरेको छ । एक महिनाअघि युट्युबमा रिलिज भएको यो गीत अहिले सर्वाधिक सुनिनेमध्ये पर्छ । टिकटक त यही गीतले कब्जा गरेको छ ।
यसै क्रममा ‘कुमारी’को उक्त गीतले युट्युबमा ठूलो सफलता हासिल गरेको छ । बुधबार साँझ युट्युबमा गीतलाई एक करोडभन्दा बढी पटक हेरिएको छ । टिकटकमा गीत भाइरल भएपछि युट्युबमा भ्यूज ह्वात्तै बढेको थियो । टिकटकमा पनि गीतमाथि ५० लाखभन्दा बढी भिडियो बनिसकेका छन् भने रिल्स र शर्टस् पनि हजारौंको संख्यामा बनेका छन् ।
केहर सिंह लिम्बूको स्वरमा रहेको ‘डोको बुन्ने’ गीत लोकप्रिय हुँदा त्यसले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ । यसको प्रभाव फिल्मको व्यापारमा देखिने अपेक्षा गरिएको छ । फिल्मका अन्य दुई गीत ‘तिमी बिना’ र ‘कता छौ’ पनि युवापुस्ताले रूचाएका छन् । यसरी हेर्दा गीतसंगीतमा फिल्म सफल भएको देखिन्छ । अब फिल्म स्वयंको परीक्षा भने शुक्रबारबाट हुँदैछ ।
बुधबारबाट देशभरका हलले फिल्मको शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् । फिल्मले पहिलो दिनका लागि देशव्यापी १४१ शो पाएको खल्ती एपमा देखिन्छ । नयाँ कलाकारको फिल्मले यो संख्यामा शो पाउनु उत्साहजनक हो । यसले फिल्मप्रति प्रदर्शकहरू (हल व्यवसायी)ले ठूलो अपेक्षा राखेको प्रस्ट देखाउँछ ।
दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा अबिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको छ । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । यसमा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

