.jpg)
महाशिवरात्रिको छेको पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो झलक सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण पक्षले दिवंगत चलचित्र पत्रकार दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको मनपर्ने फिल्मको दृश्य सार्वजनिक गरेको हो । दिनेश यस फिल्मका मिडिया संयोजक थिए ।
फिल्मको ६ मिनेटभन्दा लामो भिडियोमा परिवारभित्रको विवाद र द्वन्द्वलाई देखाइएको छ । गहिरो प्रेममा रहेका जोडीको परिवारले चिना हेराउँदा विवाह गर्न सम्भव नदेखिएपछि विवाद उत्पन्न भएको भिडियोमा देख्न सकिन्छ । परिवारभित्रको आन्तरिक द्वन्द्व र त्रिकोणात्मक प्रेमलाई फिल्मले मुख्य कथावस्तु बनाएको भिडियोले प्रस्ट संकेत दिएको छ ।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, रोशनी कार्की, निकिता आचार्य, प्रतिकराज आचार्य, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् ।
सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन छ । फिल्मका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् ।

