Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘कुमारी’लाई ‘सैयारा’सँग दाँजेपछि निर्देशक राउत भन्छन्, ‘त्यो सतही बुझाइ हो’

फिल्मीखबर, काठमाडौं, 2026/02/04

dinesh raut

 

हिन्दी फिल्म ‘सैयारा’ले विश्व बक्स अफिसमा उधुम मच्चाइरहँदा नेपालमा फिल्म ‘कुमारी’को घोषणा भएको थियो । जब फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक भयो, त्यसपछि धेरैले ‘सैयारा’सँग दाँजे । कारण, दुवैमा नयाँ अनुहार थिए । र, पोस्टर ‘सैयारा’ जस्तै रोमान्टिक थिममा थियो । गीतदेखि ट्रेलरसम्म रिलिज भइसक्दा समेत फिल्मलाई ‘सैयारा’सँग दाँज्ने क्रम रोकिएको छैन । 

१० दिनअघि युट्युबमा सार्वजनिक भएको ट्रेलरको कमेन्ट सेक्सन हेर्ने हो भने कतिपयले फिल्मलाई ‘सैयाराको नेपाली भर्सन’ भन्दै टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मका निर्देशक दिनेश राउतले यसबारे स्पष्ट पार्ने प्रयास गरे । ‘कुमारी’लाई ‘सैयारा’सँग दाँज्नु सतही बुझाइ मात्र भएको उनको तर्क छ । 

उनले भने, ‘फिल्मलाई ‘सैयारा’को नेपाली भर्सन भन्नु सतही बुझाइ मात्र हो । फिल्मको कथा के हो भन्नेतिर नगइ लभस्टोरी फिल्म भयो र दुवैमा नयाँ केटाकेटी भए भन्ने हिसाबमा त्यसलाई ‘सैयारा’सँग दाँज्नु सतही बुझाइ हो जस्तो मलाई लाग्छ । त्यो बुझाइ फिल्म रिलिजपछि गलत सावित हुनेछ । किनकि, फिल्मको कथा ‘सैयारा’भन्दा विल्कुलै फरक छ ।’

उनले आफ्नो अघिल्ला लभस्टोरी फिल्मभन्दा दर्शकलाई ‘कुमारी’ फरक लाग्ने पनि दाबी गरे । ‘साथीभाइको सल्लाहमा मैले धेरैपछि लभस्टोरी फिल्म गरेको हुँ । पहिला लभस्टोरी जनरालाई लिएर मेरो जुन खालको बुझाइ थियो, त्यो अहिले केही मात्रामा फरक भएको छ । त्यो हिसाबले पनि मैले हिजो गरेका लभस्टोरीभन्दा दर्शकले केही न केही फरक ‘कुमारी’मा भेट्नुहुन्छ,’ राउतले भने ।

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा अबिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको छ । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । यसमा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।