
यस्तो लाग्दैछ, अहिले नेपाली कलाकारहरूबीच विद्युतीय गाडी खरिद गर्ने प्रतिस्पर्धा नै चलेको छ । दिनहुँजसो कुनै न कुनै कलाकारले विद्युतीय गाडी खरिद गरिरहेका छन् । किफायती र वातावरण संरक्षण हुने भएकाले पनि ईभीप्रति कलाकारहरूको आकर्षण बढेको देखिन्छ । गएको एक वर्षमा एक दर्जनभन्दा बढी कलाकारले विद्युतीय कार किनिसकेका छन् ।
केही दिनअघि मात्र अभिनेता प्रदीप खड्काले ७५ लाख रुपैयाँ मूल्य पर्ने ‘दिपल एसओ सेभेन’ ब्रान्डको विद्युतीय गाडी खरिद गरे । यसअघि उनी हुन्डईको क्रेटा गाडीमा हुँइकिँदै आएका थिए । त्यो गाडी उनले ‘प्रेमगीत २’ सफल भएपछि निर्माता सन्तोष सेनबाट उपहार स्वरूप पाएका थिए । करिब ८ वर्षपछि उनी विद्युतीय गाडीमा सिफ्ट भएका हुन् ।
प्रदीपको जस्तै ‘दिपल एसओ सेभेन’ गाडी अभिनेता अनुप विक्रम शाहीले पनि खरिद गरेका छन् । प्रदीपको गाडी चम्किलो पहेँलो रंगको छ भने अनुपको सेतो रंगको छ । नेपालका लागि दिपलको आधिकारिक विक्रेता कम्पनीले इन्डोर्समेन्टका लागि अप्रोच गरेपछि उनीहरूले बजार मूल्यभन्दा निकै कममा गाडी खरिद गरेको जनाइएको छ ।
केही दिनअघि अभिनेत्री प्रियंका कार्कीले पनि विद्युतीय गाडी किनेकी छन् । लामो समयदेखि इन्धन गाडी चढ्दै आएकी उनले गत सोमबार महेन्द्राको ‘बी सिक्स’ गाडी खरिद गरेकी हुन् । यो गाडीको नेपाली बजारमा न्युनतम् मूल्य ६८ लाख रुपैयाँ रहेको छ । गत पुषमा अभिनेत्री स्वस्तिमा खड्काले पनि महेन्द्राको ‘बी सिक्स’ गाडी खरिद गरेकी थिइन् ।
मंगलबार मात्र अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पनि विद्युतीय गाडी किनेकी छन् । उनले नेपाली बजारमा करिब ७० लाख रुपैयाँ मूल्य पर्ने जाइकु ब्रान्डको ‘जे सिक्स’ गाडी खरिद गरेकी हुन् । एक हप्ताअघि अभिनेता तथा निर्देशक अर्पण थापाले पनि विद्युतीय गाडी ‘आयन भी’ किनेका थिए । यो गाडीको नेपाली बजारमा ७० लाख रुपैयाँ मूल्य पर्छ ।
विद्युतीय गाडीमा चढ्नेमा अभिनेत्री बेनिशा हमाल पनि पर्छिन् । उनले विगत एक वर्षदेखि ६२ लाख रुपैयाँ मूल्य पार्ने ओमोडा ब्राण्डको गाडी चढ्दै आएकी छन् । अर्की अभिनेत्री गरिमा शर्माले पनि गत जेठमा ४० लाख रुपैयाँ मूल्यको बीवाईडी गाडी किनेकी थिइन् । यसरी हेर्दा विद्युतीय गाडीप्रति कलाकारहरूको विश्वास र आकर्षण ह्वात्तै बढेको देखिन्छ ।

