Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुमारी’ रिलिज नहुँदै ‘श्रीनिवास’मा भित्रिए अभिषेक, हरिवंशसँग देखिँदै

फिल्मीखबर, काठमाडौं, 2026/02/03

ABISHEK KHADKA And hari bansha acharya

 

यही शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’बाट मुख्य अभिनेताको रूपमा डेब्यु गरेका अभिषेक खड्का निर्माताको रोजाइमा पर्न थालेका छन् । यो फिल्मको गीत र ट्रेलर रिलिजपछि उनलाई निरन्तर फिल्मबाट अफर आइरहेको छ । यस्तैमा मंगलबार उनी ‘श्रीनिवास’ नामक फिल्ममा अनुबन्धित भएका छन् । यसमा उनी कलाकार हरिवंश आचार्यसँग देखिनेछन् ।

‘हरिबहादुरको जुत्ता’का निर्माता द्वय सरोज ओली र मोहितवंश आचार्यले संयुक्त रूपमा निर्माण गर्ने यस फिल्मलाई सजन काफ्ले र आकाश बरालले निर्देशन गर्नेछन् । ‘बेहुली फ्रम मेघौली’बाट निर्देशनमा डेब्यु गरेका उनीहरू यसै वर्ष अभिनेता विजय बराललाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म ‘जिरो डिग्री’ बनाउने तयारीमा छन् ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘श्रीनिवास’मा अभिमन्यु निरावीको लेखन रहनेछ । फिल्मका अन्य कलाकारबारे क्रमशः जानकारी गराइने निर्माता ओलीले बताए । उनले ‘हरिबहादुरको जुत्ता’मा भएको कमी कमजोरी सुधारेर दर्शकलाई उत्कृष्ट फिल्म पस्किने दाबी गरे । उनका अनुसार आगामी वर्ष फिल्मको छायांकन र प्रदर्शन हुनेछ ।

‘कुमारी’ रिलिज नहुँदै अभिषेकले पाएको यो अवसरलाई निकै चासोका साथ हेरिएको छ । बुझिए अनुसार ‘कुमारी’मा उनको काम हेरेपछि सजन र आकाशले उनलाई ‘श्रीनिवास’मा लिने निर्णय गरेका हुन् । त्यसो त यसअघि पनि उनीहरूले अभिषेकलाई ‘बेहुली फ्रम मेघौली’मा अभिनय गराएका थिए । यसमा उनी अभिनेत्री स्वस्तिमा खड्काको भाइको भूमिकामा थिए ।