कीर्तिमानी बलिउड फिल्म ‘धुरन्धर’को दोस्रो श्रृंखला १९ मार्चमा रिलिज हुँदैछ । हिन्दीसहित मलयालम, तेलुगु, तमिल र कन्नड भाषामा एकसाथ रिलिज हुन लागेको ‘धुरन्धर : द रिभेन्ज’को मंगलबार एक्सनप्रधान टिजर सार्वजनिक गरिएको छ । टिजरले पाकिस्तानी ग्याङस्टरसँगको बदलाको कथालाई नै सिक्वेलमा निरन्तरता दिइएको स्पष्ट संकेत गर्छ ।
दुई फरक गेटअपमा प्रस्तुत भएका अभिनेता रणवीर सिंह भारतीय जासूसको रूपमा पाकिस्तान पुगेपछि उनको पात्रले भोग्ने चुनौती, जोखिम र बदलाको भावनालाई टिजरले उजागर गरेको छ । तर, धेरैजसो दृश्य पहिलो भाग ‘धुरन्धर’कै प्रयोग गरिएकाले टिजरले दर्शकलाई नयाँ अनुभूति दिन सकेको छैन । यसैले सामाजिक सञ्जालमा टिजरको व्यापक आलोचना भइरहेको छ ।
आदित्य धरको निर्देशनमा बनेको ‘धुरन्धर २’को बक्स अफिसमा कन्नड सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिक’सँग भिडन्त हुँदैछ । ‘टक्सिक’को टिजर आएपछि विश्वव्यापी रूपमा चुलिएको चर्चालाई मध्यनजर गर्दै ‘धुरन्धर २’को रिलिज मिति सर्न सक्ने अनुमान गरिएको थियो । तर, निर्माताले ठूलो जोखिम मोलेर एउटै मितिमा भिड्ने आँट गरेका छन् ।
‘धुरन्धर’ अझै पनि भारतसहित नेपालका हलमा प्रदर्शनरत छ । नेपालमा साढे १० करोडमाथि कमाइ गरिसकेको यो फिल्मले भारतमा लगभग ९ सय करोड नेट कमाएको छ । फिल्मको यो विशाल सफलताले ‘धुरन्धर २’का लागि ठूलो चुनौती थपेको छ । अब नयाँ श्रृंखलाले अघिल्लो भागको कीर्तिमान तोड्न सक्छ कि सक्दैन, त्यो दर्शकका लागि चासोको विषय बनेको छ ।

