सन् २०२५ मा रिलिज भएको लभस्टोरी बलिउड फिल्म ‘सैयारा’ले विश्वभर अविश्वसनीय कमाइ गर्यो । भारतमा मात्र झन्डै ४ सय करोड कमाएको यो फिल्मले बलिउडमा मृतप्रायः रहेको लभस्टोरी जनरालाई नै पुनर्जीवित गरेको छ । यसको सफलतापछि बलिउडमा लभस्टोरी फिल्मको बाढी आइरहेको छ । र, त्यसको प्रभाव नेपालमा समेत देखिएको छ ।
‘सैयारा’ले बक्स अफिसमा उधुम मच्चाइरहँदा त्यही समयमा नेपालमा लभस्टोरी फिल्म ‘कुमारी’को घोषणा भएको थियो । फिल्मको घोषणा पोस्टर सार्वजनिक हुँदा कतिपयले ‘सैयारा’सँग समेत दाँजेका थिए । तर, गीतदेखि ट्रेलरसम्म आइपुग्दा फिल्मको कथा विल्कुलै फरक देखिएको छ । यद्यपि, ‘सैयारा’ जस्तै ‘कुमारी’ व्यावसायिक रूपमा सफल हुन्छ कि हुँदैन भन्ने चासो धेरैमा छ ।
फिल्मका निर्देशक दिनेश राउतले राखेको अपेक्षा भने व्यावसायिक पक्षभन्दा बढी ‘सैयारा’ जस्तै ‘कुमारी’ले नेपालमा लभस्टोरी जनरालाई पुनर्जीवित गरोस् भन्ने छ । यो फिल्मबाट उनी हलमा विरलै देखिने युवापुस्तालाई आकर्षित गर्न चाहन्छन् । त्यसका लागि नै आफूले लामो समयपछि लभस्टोरी फिल्म बनाएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘मेरो उद्देश्य ‘कुमारी’बाट लभस्टोरी जनरा पुनर्जीवित होस् भन्ने नै हो । सायद मप्रति धेरैको अपेक्षा पनि यही होला । मैले आफ्नो तर्फबाट जति जानेको छु, त्यो गरेको छु । पछिल्लो समय एउटा उमेर समूहका दर्शक हलमा त्यति देखिँदैनन् । त्यो समूहलाई हलसम्म ल्याउनकै लागि पनि मैले ‘कुमारी’ बनाएको हुँ । अब नतिजा के आउँछ, त्यो पर्खाइको विषय हो ।’
कतिपयले नामका कारण जीवित देवीको रूपमा पुजिने कुमारीको विषयमा फिल्म आधारित हुनसक्ने अनुमान गरेका छन् । तर, निर्देशक राउतले फिल्मको कथा कुमारीसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘सतही रूपमा बुझ्दा धेरैलाई फिल्ममा जीवित देवी कुमारीको विषय छ कि भन्ने हुनसक्छ । तर, फिल्मको कथा त्यो होइन । अहिलेलाई यति मात्र भन्न सक्छु ।’
यही शुक्रबार (२३ माघ)बाट प्रदर्शन हुन लागेको ‘कुमारी’मा अबिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको छ । आकृतिको यो डेब्यु फिल्म हो । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का लगायतका कलाकारहरूको पनि रहेको यस फिल्ममा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।

