Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परिवर्तन’ : अञ्जनाको पारिश्रमिक २० लाख, फिल्मको कमाइ ३१ लाख

फिल्मीखबर, काठमाडौं, 2026/02/02

movie

 

अघिल्लो साता प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘परिवर्तन’ छायांकनकै बेलादेखि कलाकारको पारिश्रमिकका कारण चर्चामा थियो । यो फिल्ममा सर्वाधिक पारिश्रमिक अभिनेत्री अञ्जना बराइलीले लिएको बताइन्छ । बजारमा चलेको चर्चाअनुसार उनले यसमा २० लाख पारिश्रमिक बुझेकी छन् । र, अभिनेता सुशील श्रेष्ठले १६ लाख पारिश्रमिक लिएको स्रोतको दाबी छ ।

अञ्जना र सुशीललाई मात्र ३६ लाख पारिश्रमिक तिरेका निर्माताले फिल्मबाट भने १० लाख पनि नपाउने देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणमा फिल्मले ९ दिनको अवधिमा ३१ लाख ९ हजार ९२५ रुपैयाँ ग्रस कमाएको उल्लेख छ । यसबाट हलको सेयर, कर र वितरकको कमिसन कटाएर आउँदा निर्माताको हातमा १० लाख पनि पर्दैन ।

बोर्डले ‘परिवर्तन’सहित माघ १ गते अर्थात् माघे संक्रान्तिमा प्रदर्शन भएका तीन फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’को पनि बक्स अफिस विवरण सार्वजनिक गरेको छ । यसमध्ये ‘गोबर गणेश’ व्यापारमा निकै अगाडि देखिन्छ । यसले माघ १७ गते शनिबारसम्म ४८ हजार ५३ वटा टिकट बिक्री गर्दै १ करोड ३६ लाख २० हजार ८३६ रुपैयाँ ग्रस कमाएको छ । 

‘भाइरल गोर्खे’ र ‘मिरमिरे’को कमाइ भने ४० लाख पनि कटेको छैन । सौगात मल्ल अभिनीत ‘भाइरल गोर्खे’ले ११ हजार २९८ वटा टिकट बिक्रीबापत ३६ लाख १० हजार ९२५ रुपैयाँ ग्रस कमाइ गरेको छ भने दयाहाङ राई र प्रकाश सपूत अभिनीत ‘मिरमिरे’ले १० हजार ८८४ वटा टिकट बिक्री गर्दै ३३ लाख ९३ हजार ७२५ रुपैयाँ ग्रस कमाएको छ । 

यसैगरी, बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘परान’ले १७ करोड ८४ लाख ४७ हजार ५७६ रुपैयाँ र ‘झरीपछिको इन्द्रेणी’ले १ करोड २८ लाख ५२ हजार ३१९ रुपैयाँ ग्रस कमाएका छन् । ‘परान’ यस वर्षको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनिसकेको छ । र, यो नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाउने चौथौ फिल्म समेत बनेको छ ।