Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकार दिनेश सिटौलाको निधन

फिल्मीखबर, काठमाडौं, 2026/02/02

dinesh sitaula

 

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । शुक्रबारदेखि काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा उपचारार्थ उनको आइतबार दिउँसो १२:४५ बजे ब्रेन ह्यामरेजका कारण निधन भएको हो । उनको आइतबार साँझ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । ४५ वर्षका उनी अविवाहित थिए । 

अछाम भ्रमणको क्रममा शुक्रबार बिहान साढे ९ बजेतिर अचानक बेहोस भएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ करिब ४५ मिनेट सीपीआर गरेपछि थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको (आईसीयू)मा भर्ना गरिएको थियो ।

ग्रान्डीका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेका अनुसार गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि पनि सिटौलाको न्यूरोलोजिकल अवस्थामा कुनै सुधार नआएपछि चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न ‘एप्निया टेस्ट’ गरिएको थियो । त्यो परीक्षण पोजेटिभ (स्वतः श्वासप्रश्वास नभएको पुष्टि) आएको उनले प्रेस वक्तव्यमार्फत जानकारी दिए ।

 

dinesh sitaula 2


डेढ दशकभन्दा लामो समय चलचित्र पत्रकारितामा क्रियाशिल सिटौलाले पछिल्लो समय फिल्मसम्बन्धी अनलाइन पोर्टल ‘द सिनेमा टाइम्स डटकम’ सञ्चालन गर्दै आएका थिए । उनी चलचित्र पत्रकार संघमा अध्यक्षसँगै उपाध्यक्ष र सचिव पदमा पनि निर्वाचित भएका थिए । उनको निधनले सिंगो चलचित्र पत्रकारिता तथा नेपाली फिल्म क्षेत्र स्तब्ध भएको छ ।