Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्याकी च्यानले रेकर्ड गराए आफ्नो निधनपछि रिलिज हुने गीत

एजेन्सी, काठमाडौं, 2026/01/31

Jackie Chan

 

कङ्ग फू मास्टरको रूपमा परिचित हलिउड अभिनेता ज्याकी च्यानले आफूले ‘फेयरवेल’ गीत रेकर्ड गराएको खुलासा गरेका छन् । उनले हालै चीनको राजधानी बेइजिङमा आफ्नो नयाँ फिल्म ‘अनएक्सपेक्टेड फेमिली’को प्रिमियरको क्रममा यसबारे खुलासा गरेका हुन् । उनले उक्त गीत आफ्नो निधनपछि रिलिज हुने र दुनियाँका लागि त्यही नै आफ्नो अन्तिम सन्देश हुने बताएका छन् ।

ज्याकी च्यानको भनाइ उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम ‘चीन डट ओआरजी डट सिएन’को रिपोर्टमा भनिएको छ, ‘उमेर बढेसँगै मैले केही साथी र आफन्तलाई गुमाएँ । यो घटनाले मलाई जिन्दगीको बारेमा सोच्न बाध्य बनायो । त्यसपछि मलाई महसुस भयो कि जीवन निकै छोटो छ र जुन कुरा मनमा छ, त्यो समय रहँदै गर्नुपर्छ । यही सोचका साथ मैले एक खास गीत रेकर्ड गरेँ ।’

अभिनेता च्यानका अनुसार उक्त गीत रेकर्ड गर्नुको पछाडि गहिरो भावना छ । उनले भनेका छन्, ‘पछिल्ला केही वर्षमा कयौं नजिकका व्यक्तिको निधनले मलाई यो सिकायो कि जीवनमा केही पनि सधैंका लागि हुँदैन । यसैले मैले सोचेँ कि दुनियाँबाट विदा लिनुभन्दा पहिला आफ्नो भावना एक गीतको माध्यमबाट संसारभरका मानिससम्म पुर्‍याउन चाहन्छु ।’

खासमा ज्याकी च्यान उक्त गीत तत्काल नै रिलिज गर्न चाहन्थे । तर, उनलाई परिवारका सदस्यले अहिले नै गीत रिलिज नगर्न सुझाव दिए । यसैले अब उनको गीत उनले संसारबाट बिदा लिएपछि मात्र रिलिज हुनेछ । फिल्मको प्रिमियरमा उक्त गीतको केही पंक्ति सुनाउन दर्शकले आग्रह गर्दा उनले हाँस्दै भनेका थिए, ‘यदि मैले अहिले गाएँ भने तपाईंहरू रून थाल्नुहुन्छ ।’