
यस वर्षको सफल फिल्म ‘मोहर’मा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले जोडी भएर काम गरेका थिए । तर, यतिबेला रोचक संयोग के जुरेको छ भने दुवैको नयाँ फिल्म शुक्रबारबाट एकैसाथ प्रदर्शनमा आएका छन् । पल अभिनीत ‘आ बाट आमा’ र बेनिशा अभिनीत ‘द ब्लू लाइट’ बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका हुन् । दुवै फिल्म विषयका हिसाबले भने फरक छन् ।
दुई फिल्ममध्ये शो संख्यामा ‘आ बाट आमा’ अगाडि देखिन्छ । यसले पहिलो दिन देशव्यापी १५० भन्दा बढी शो पाएको छ । केही शोमा टिकट बुकिङ पनि राम्रो देखिएको छ । अब दर्शकीय प्रतिक्रिया कस्तो प्राप्त हुन्छ, त्यसले फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ । फिल्ममा बाबुआमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर कथा भनिएको छ ।
यता, देशभर ७२ शोसहित प्रदर्शनमा आएको ‘द ब्लू लाइट’को टिकट बुकिङ अवस्था निराशाजनक देखिएको छ । जसले गर्दा बिहानी शोमा फिल्मको देशव्यापी अकुपेन्सी १० प्रतिशत पनि पुग्न सकेन । यस्तो अवस्थामा फिल्मलाई बक्स अफिसमा व्यापारिक गति बढाउन दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ आवश्यक पर्ने देखिन्छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा’मा पलसहित विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, दीलिप उखेडा, हेमराज अधिकारी लगायतको अभिनय रहेको छ । फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।
त्यस्तै, बलिराम चौहानको निर्देशनमा तयार भएको ‘द ब्लू लाइट’मा बेनिशासहित अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायतको अभिनय रहेको छ । बेनिशा यो फिल्मको कार्यकारी निर्माता समेत हुन् । बिहीबार साँझ काठमाडौंमा भएको प्रिमियरमा फिल्मको कथावस्तु, छायांकन र कलाकारहरूको अभिनयको प्रशंसा भएको थियो ।

