Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युट्युबमा पनि ‘ऊनको स्वीटर’ सुपरहिट

फिल्मीखबर, काठमाडौं, 2026/01/29

Bipin Karki, Miruna Magar

 

अक्सर नेपाली फिल्म हलमा फ्लप र युट्युबमा सुपरहिट हुने गरेका छन् । युट्युबमा निःशुल्क हेर्न पाइने सुविधा भएकाले प्रायः फिल्मलाई उल्लेख्य भ्यूज मिल्ने गरेको छ । यद्यपि, युट्युबमा भ्यूजको खडेरी देखिएका स्थापित कलाकारहरूकै फिल्म पनि धेरै छन् । यस्तोमा फिल्म ‘ऊनको स्वीटर’ले हलसँगै युट्युबमा पनि लोभलाग्दो सफलता पाएको छ । 

७ दिनअघि युट्युबमा रिलिज भएको ‘ऊनको स्वीटर’ यस वर्षको सुपरहिट फिल्म हो । यसले प्रदर्शनको ५१ दिन मनाउँदै ११ करोड ४१ लाखभन्दा बढीको ग्रस व्यापार गरेको थियो । भारतमा पनि फिल्मले २ करोड ४० लाख नेरू (डेढ करोड भारू) कमायो । फिल्मसँगै यसमा समावेश ‘फूल’, ‘चाइनेजो जिन्दगानीमा’, ‘काफ्ले’ र ‘मखमली’ गीत पनि दर्शकमाझ उत्तिकै लोकप्रिय भए ।

हलमा रिलिज हुँदा सर्वाधिक चर्चामा रहेको यो फिल्मले युट्युबमा पनि ठूलै हलचल ल्याएको छ । रिलिजको ७ दिनमा ६६ लाखभन्दा बढीले फिल्म हेरिसकेका छन् । युट्युबको कमेन्ट सेक्सन प्रशंसाले भरिएको छ । कथादेखि संगीत, अभिनय, छायांकन, संवाद जस्ता पक्षलाई दर्शकहरूले १० मा १० रेटिङ दिएका छन् । धेरैले फिल्मको सिक्वेल बन्नुपर्ने माग समेत गरेका छन् ।

युट्युबमा फिल्मलाई अत्याधिक रूचाइएपछि अभिनेता विपिन कार्कीले बुधबार एक भिडियो सन्देशमार्फत दर्शकहरूप्रति आभार व्यक्त गरेका छन् । यस फिल्ममार्फत राष्ट्रिय अवार्डको दाबेदार मानिएका उनले भिडियोमा भनेका छन्, ‘यस मायाको उत्तरमा मसँग शब्दहरू त कम छन् । तर, आभार साँच्चै गहिरो छ अनि प्रेम उत्तिकै गाढा छ ।’

नवीन चौहानको निर्देशनमा बनेको फिल्ममा विपिनसहित मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, विल्सन विक्रम राई (तक्मे बुढा), सुनिल पोखरेल, सुरज तमु, भावना खपाङ्गी, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतले अभिनय गरेका छन् । अन्तरजातीय प्रेमकथामा आधारित यस फिल्ममा चिन्तनराज भण्डारीको छायांकन तथा सुजन चापागाईंले संगीत छ ।