.jpg)
महाशिवरात्रिको छेको पारेर फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बिगुल’को प्रचार अभियान तीव्र बनाइएको छ । हालै निर्माण पक्षले करिब एक साता पश्चिम नेपालमा मात्र फिल्मको प्रचार केन्द्रित गर्यो । बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगन्ज र पोखरामा दर्शकसँग साक्षात्कार गरेर फिल्मको टिम मंगलबार काठमाडौं फर्किएको छ ।
पश्चिम नेपालभन्दा अघि पूर्वमा पनि फिल्मको प्रचार अभियान चलाइएको थियो । विराटनगर, इटहरी, धरान, दमक, विर्तामोड हुँदै हेटौंडा र चितवनका विभिन्न कार्यक्रममा फिल्मका निर्देशक रमेश कोइराला, निर्माता तथा कथाकार दिनेश कोइराला र अभिनेता नरेन खड्का सहभागी भएका थिए । फिल्मको मोफसल प्रचार अभियानमा नेपाल जेसीजले साथ दिएको थियो ।
निर्देशक कोइरालाले ‘बिगुल’ले भुइँमान्छेको कथा बोलेकाले मोफसलमा फिल्मप्रति दर्शकको चासो उच्च देखिएको बताए । देशको वर्तमान राजनीतिक परिस्थितिलाई यथार्थपरक रूपमा पर्दामा उतारिएको भन्दै दर्शकले उत्साह व्यक्त गरेको उनको भनाइ छ । उनका अनुसार फिल्ममा राजनीतिक खिचातानी, पारिवारिक दायित्व र युवाको विद्रोही भावनालाई मुख्य विषय बनाइएको छ ।
कल्पना पौडेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा नरेनसहित बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन तथा तारा थापा (किम्भे)को सम्पादन छ ।

