
विवश कुमार माझी र मोहन केसीको संयुक्त निर्देशनमा बनेको फिल्म ‘बुकी’को पहिलो गीत ‘तिमी मैसँग भइराख है’ सार्वजनिक गरिएको छ । प्रेमिल भावना व्यक्त यस गीतमा देवेन्द्र बब्लुको शब्द तथा स्वर रहेको छ भने दीपक शर्मा र एचबीएन किस्मतको संगीत छ । गीतमा प्रेमीले प्रेमिकालाई आफ्नो साथमा भइरहन गरेको आग्रहलाई मुख्य विषय बनाइएको छ ।
कथात्मक शैलीमा तयार पारिएको गीतको भिडियोमा गायक तथा फिल्मका मुख्य अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की देखिएका छन् । उनीहरूबीचको प्रेम र वियोगलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । दुवैको अभिनय जीवन्त देखिन्छ । रोशनी भक्कानिएर रोएको दृश्य र देबेन्द्रको मौनताले भावनात्मक प्रेमकथामा फिल्म आधारित रहेको प्रस्ट पार्छ ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स’को प्रस्तुति रहेको यस फिल्ममा देबेन्द्र र रोशनीसहित सुरक्षा पन्त, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । काठमाडौं, पोखरा र बाग्लुङको ढोरपाटनमा फिल्म खिचिएको हो ।
लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको फिल्ममा प्रकाश आले र राजन केसी कार्यकारी निर्मातामा छन् । सह-निर्माताहरू जितु थापा र सुनील बुढाथोकी हुन् । फिल्ममा विकास गन्दर्भको डीओपी तथा भुपेन्द्र अधिकारीको सम्पादन छ । निर्माण पक्षले फिल्मलाई २०८३ सालमा प्रदर्शन गर्ने योजना बनाएको छ ।

