
पछिल्लो समय फिल्म क्षेत्रमा नयाँ निर्देशकको आगमन निकै बढेको छ । कतिपय फिल्म मेकिङ अध्ययन गरेर यो क्षेत्रमा आएका छन् भने कतिपय सहायक निर्देशकको रूपमा लामो अनुभव बटुलेर निर्देशनमा होमिएका छन् । यसैक्रममा नयाँ फिल्म ‘द ब्लू लाइट’बाट बलिराम चौहान निर्देशकको रूपमा उदाएका छन् । उनीसँग निर्देशनको अनुभव र अध्ययन दुवै छ ।
फिल्म ‘बलिदान’मा मुख्य सहायक निर्देशक र सह-लेखकको रूपमा काम गरेका उनी कान्तिपुर फिल्म एकेडेमीका उत्पादन हुन् । त्यहाँ फिल्म मेकिङको अध्ययन गरेपछि उनले ‘मिस स्कारलेट’ नामक वेब सिरिजको निर्देशन गरेका थिए । अब ‘द ब्लू लाइट’बाट फिचर फिल्म निर्देशनमा होमिएका उनी आफू रातारात हिट हुन यो क्षेत्रमा नआएको बताउँछन् ।
उनी भन्छन्, ‘म रातारात हिट हुन वा त्यसैगरी हराउनका लागि आएको होइन । निर्देशकको रूपमा लामो यात्राका लागि तयार भएर फिल्म क्षेत्रमा प्रवेश गरेको हुँ । म यो क्षेत्र छाडेर कतै जान्नँ । मेरो योगदान र गन्तव्य अरूभन्दा विल्कुलै फरक हुनेछ ।’ ‘द ब्लू लाइट’पछि पनि आफूले निरन्तर फरक शैली र शिल्पका फिल्म बनाउने उनले बताए ।
उनी ‘द ब्लू लाइट’लाई गहिराइमा अनुभूत गर्ने फिल्मको रूपमा अर्थ्याउँछन् । भन्छन्, ‘यो फिल्म हेरेर बिर्सिने नभइ गहिराइमा अनुभूत गर्ने एउटा विशेष फिल्म हो । मानव मनको जटिलता, एक्लोपन, वास्तविकता र भ्रमबीचको सूक्ष्म रेखालाई फिल्ममा देखाउँदै प्रेम, धोका र बदलाको विषयलाई नयाँ शैलीमा प्रस्तुत गरेका छौं ।’
यो फिल्ममा बलिरामले स्थापित कलाकारहरूको पल्टन नै खडा गरेका छन् । बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायतको फिल्ममा मुख्य भूमिका छ । तर, स्थापित कलाकारहरूको ठूलो जमघट रहे पनि भूमिकालाई लिएर कुनै विवाद नभएको र सबैले आफ्नो चरित्रमा नयाँपन पाएको निर्देशक चौहानको दाबी छ ।
यही शुक्रबार अर्थात् १६ माघदेखि प्रदर्शन हुन लागेको यस फिल्ममा निर्देशक चौहान स्वयंको लेखन तथा निर्माण छ भने कार्यकारी निर्मातामा छायाँकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन् । सह-निर्माताहरू भोलानाथ कटुवाल र रमन ग्रे हुन् । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यो फिल्ममा लोकेश बज्रचार्यको सम्पादन तथा एसडी योगीको संगीत रहेको छ ।

