
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले फिल्मको प्रचारदेखि प्रदर्शनसम्म प्रभावित भएको छ । आम मानिसको चासो चुनावमा केन्द्रित हुँदा निर्माताहरूले फिल्मको प्रदर्शन नै स्थगित गर्न थालेका छन् । फिल्म ‘कल्ली’बाट यसको सुरूवात भएको छ । यो फिल्म फागुन १ गते प्रदर्शन हुने तयारीमा थियो । तर, अब निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ ।
सोमबार फिल्मको निर्माता कम्पनी लेकाली इन्टरटेन्मेन्ट प्रालिका तर्फबाट किरण नेपालीले जारी गरेको विज्ञप्तिमा हाल सबैको प्राथमिकता चुनाव भएकाले त्यसको सम्मान गर्दै फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ । अब मुलुकमा नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बनेलगत्तै नयाँ प्रदर्शन मिति घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, अर्पण थापा, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, परिक्षा लिम्बू, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी लगायतको अभिनय रहेको छ । फिल्मको एक गीतमा पूजा शर्माले नृत्य गरेकी छन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुनारको कथा, महेश दवाडीको पटकथा तथा संवाद, निसाल पौडेलको डीओपी, मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत तथा एनवी महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मले मान्छेभित्रको देउता र राक्षसीपनको कथा भन्नेछ ।

