Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशमा ‘कुमारी’को माग : अमेरिकादेखि मध्यपूर्वसम्म प्रदर्शन अधिकार बिक्री

फिल्मीखबर, काठमाडौं, 2026/01/26

worldwide kumari

 

माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘कुमारी’को ट्रेलर रिलिजपछि विदेशमा माग ह्वात्तै बढेको छ । ट्रेलर रिलिजको तेस्रो दिन नै निर्माण पक्षले अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री गरेको छ । सोमबार निर्माता महेन्द्र अधिकारीले यसबारे जानकारी गराएका हुन् । 

अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले फिल्मलाई वितरण गर्नेछन् । यी देशहरूमा नेपालकै मितिमा फिल्म रिलिज हुने निर्माता अधिकारीले जानकारी दिए । उनका अनुसार अन्य देशहरूबाट समेत फिल्म प्रदर्शनका लागि निरन्तर माग आइरहेको छ ।

गत शनिबार काठमाडौंको भृकुटीमण्डपमा ५ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सांगीतिक कार्यक्रमसहित फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । प्रेम र वियोगलाई केन्द्रमा राखिएको ट्रेलरले सामाजिक सञ्जालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । कलाकारको अभिनयदेखि संगीत, छायांकन, संवाद जस्ता पक्ष निकै रूचाइएको छ । 

अबिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको यस फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायतको पनि अभिनय रहेको छ । दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । यसमा सुसन प्रजापतिको छायांकन रहेको छ ।