Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गायनमा विजय बरालको डेब्यु, ल्याए ‘विधिको शासन’ गीत

फिल्मीखबर, काठमाडौं, 2026/01/26

bijay

 

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता विजय बरालले अब गायकको रूपमा आफ्नो परिचय थपेका छन् । फिल्म र नाटकमार्फत अभिनयमा आफूलाई प्रमाणित गरिसकेका उनले ‘विधिको शासन’ गीतमार्फत गायनमा डेब्यु गरेका हुन् । आइतबार युट्युबमार्फत सार्वजनिक यस गीतमा शौरभ कार्कीको शब्द रचना तथा प्रशान्त सिवाकोटीको संगीत छ । 

निरंकुशलता ढाल्न क्रान्तिको खाँचोलाई औंल्याएको उक्त गीतले देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पनि पद्धति र विधिको शासन अनिवार्य हुने सन्देश दिएको छ । २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को परिवर्तन हुँदै पछिल्लो पटक भएको युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ । 

विजयले यो गीत कसैको विरोध वा समर्थनमा नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘यो केवल सत्ता र प्रणालीलाई गरिएको व्यङ्ग्य र खबरदारी हो । देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।’ परिवर्तनका संवाहकहरूका लागि यो गीत सारथी बन्ने उनको विश्वास छ ।

‘प्रेमगीत ३’का अभिनेता समेत रहेका मनिष राउतको कन्सेप्टमा तयार पारिएको गीतको भिडियोमा २०४६ सालमा भएको पञ्चायती व्यवस्था विरोधी आन्दोलनदेखि २०६२/६३ को दोस्रो जनआन्दोलन र हालै भएको जेनजी आन्दोलनमा प्रहरीको दमन र युवाहरूको आक्रोशलाई प्रस्तुत गरिएको छ । यसले गीतलाई थप जीवन्त बनाएको छ ।