Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा दयाहाङ र सौगातको फिल्ममाथि ‘गोबर गणेश’ हाबी

फिल्मीखबर, काठमाडौं, 2026/01/26

film

 

माघे संक्रान्तिको दिन तीन चर्चित कलाकारका फिल्मबीच बक्स अफिसमा प्रतिस्पर्धा भएको थियो । सो मितिमा दयाहाङ राई अभिनीत ‘मिरमिरे’, सौगात मल्ल अभिनीत ‘भाइरल गोर्खे’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ अभिनीत तथा निर्देशित फिल्म ‘गोबर गणेश’ एकैसाथ प्रदर्शनमा आएका थिए । तर, यी तीनवटै फिल्म अपेक्षित रूपमा व्यापार गर्न असफल भएका छन् ।

रोचक चाहिँ के छ भने ‘सुपरस्टार’ कहलिएका दयाहाङ र सौगातको फिल्ममाथि घरेलु बक्स अफिसमा ‘बल्छी धुर्वे’को फिल्म हाबी देखिएको छ । ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ले व्यापारभन्दा लगभग दोब्बर कमाइ ‘गोबर गणेश’ले गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणमा यो फिल्मको १० दिनको कुल व्यापार १ करोड १४ लाख रुपैयाँ ग्रस छ । 

‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ले भने १० दिनमा ४० लाख पनि कमाएका छैनन् । ‘भाइरल गोर्खे’ले १० हजार ६०५ वटा टिकट बिक्री गर्दै ३४ लाख ५३ हजार ग्रस कमाएको छ भने १० हजार ८१३ वटा टिकट बिक्रीसहित ‘मिरमिरे’ले ३३ लाख ७२ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । यसरी हेर्दा यी दुई फिल्मले कलाकारलाई तिरेको पारिश्रमिक पनि उठाउन नसक्ने देखिन्छ ।

बोर्डले गत पुष ४ गते प्रदर्शन भएको कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को पनि बक्स अफिस विवरण सार्वजनिक गरेको छ । यसले माघ १० गते शनिबारसम्म ३९ हजार २१७ वटा टिकट बिक्री गर्दै १ करोड २३ लाख ८८ हजार ८२९ रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्म व्यावसायिक रूपमा असफल भइसकेको छ ।