
अभिनेत्री आना शर्मा कार्यकारी निर्माताको रूपमा रहेको फिल्म ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याएको तीन मिनेट लामो ट्रेलरले प्रेम र ब्रेकअपको कथा पेश गरेको छ । ट्रेलरको केन्द्रमा आना छिन्, जसको प्रेम जीवन उतारचढावपूर्ण देखिन्छ ।
पछिल्लो समय नेपाली युवा पुस्तामा बढ्दो प्रेम, ब्रेकअप, धोका, आकर्षण, यौनिक गतिविधिसहितका भावनात्मक उतारचढावलाई फिल्मले कथानकको मूल विषय बनाएको ट्रेलरबाट प्रस्ट हुन्छ । ट्रेलरमा आनासहित विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ, रेनु योगी लगायतका कलाकारहरूको पनि उपस्थिति देख्न सकिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मकी निर्देशक सुदिप्ताले ‘रमिताको पिरती’ ब्रेकअपको कथामा बनेको बताइन् । उनले भनिन्, ‘यो लभस्टोरीभन्दा पनि ब्रेकअप स्टोरी हो । नेपालमा केटाको तर्फबाट थुप्रै लभस्टोरी फिल्म बनेका छन् । मैले चाहिँ महिलाको तर्फबाट लभ र ब्रेकअपको कथा भनेको छु । ब्रेकअपपछि एउटी केटीले के-के भोग्छ भन्ने कुरा फिल्ममा देखाएको छु ।’
माघ २३ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मका निर्माता सागर लम्साल हुन् । कार्यकारी निर्मातामा आना र सन्तोष लम्साल रहेका छन् । फिल्ममा शिशिर विशंखेको डीओपी, सुनिल शिवभक्तिको सम्पादन, सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत, कपिल पराजुलीको कलर तथा कृतिका बरालको कोरियोग्राफी छ ।

