Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिनेश राउतको लिगेसीलाई ‘कुमारी’ले अगाडि बढाउँछ : आर्यन सिग्देल

फिल्मीखबर, काठमाडौं, 2026/01/25

aaryan sigdel and dinesh raut

 

नेपाली फिल्म क्षेत्रमा कलाकार र निर्देशकको मित्रताको उदाहरण दिँदा आर्यन सिग्देल र दिनेश राउतको नाम छुट्दैन । उनीहरू संघर्षकालदेखिका साथी हुन् । र, दुवैले एकअर्कासँगै सबैभन्दा धेरै काम गरेका छन् । दिनेशले निर्देशन गरेका ९ वटा फिल्ममध्ये ५ वटामा आर्यन मुख्य भूमिकामा छन् । पछिल्लो पटक फिल्म ‘महाभोज’मा उनीहरूको सहकार्य भएको थियो ।

यतिबेला दिनेशको नयाँ फिल्म ‘कुमारी’ प्रदर्शनको संघारमा छ । यसमा आर्यन छैनन् । मुख्य भूमिकामा नयाँ अनुहारलाई लिइएको छ । तर, फिल्ममा आफू नभए पनि आर्यनले प्रचारमा साथ दिइरहेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित फिल्मको ट्रेलर सार्वजनिकसहितको सांगीतिक कार्यक्रममा उनी श्रीमतीको साथमा पुगेका थिए । 

करिब ५ हजार दर्शकको उपस्थिति रहेको कार्यक्रममा ट्रेलर हेरेपछि उनले त्यसको प्रस्तुतिको खुलेर प्रशंसा गरे । उनले ट्रेलर हेर्दा बारम्बार आफूलाई सम्झिएको बताए । उनले भने, ‘१५ वर्षभन्दा अगाडि हुन्थ्यो भने यो फिल्ममा म नै हुन्थेँ होला (लामो हाँसो) । ट्रेलर हेर्दा मैले त्यहाँ आफूलाई सम्झिएँ । ट्रेलर एकदमै राम्रो बनेको छ ।’ 

उनले निर्देशक राउतको लिगेसीलाई ‘कुमारी’ले अगाडि बढाउने पनि विश्वास व्यक्त गरे । उनले भने, ‘लभस्टोरीमा दिनेशको एउटा लिगेसी छ । ‘आइएम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’सँगै ‘पूजार सार्की’लाई पनि म लभस्टोरी फिल्म नै मान्छु । दिनेशको त्यो लिगेसीलाई ‘कुमारी’ले अझ अगाडि बढाउँछ । किनकि, मैले फिल्मको स्क्रिप्ट पढेको छु । सुटिङ र सम्पादनमा पनि बसेको छु ।’ 

आर्यनले फिल्मका कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीलाई पनि हौसला प्रदान गर्दै भने, ‘लभस्टोरी फिल्मको लिगेसीलाई अबिषेकले पनि अगाडि बढाउँछ । आकृतिको त के कुरा गर्ने । उनको हाँसो नै काफी छ । अहिले धेरैको लभस्टोरी नै उनी हुन् ।’ उनले ‘कुमारी’को सबै प्रक्रियामा आफू प्रत्यक्ष रूपमा संलग्न रहेकाले फिल्म राम्रो बनेको दाबी समेत गरे ।