.jpg)
अभिनेत्री जसिता गुरुङका लागि यस वर्ष स्मरणीय बनेको छ । कारण, गत असोजमा प्रदर्शन भएको उनी अभिनीत फिल्म ‘जेरी अन टप’ले ठूलो व्यावसायिक सफलता हासिल गर्यो । र, उनको अभिनयको पनि निकै प्रशंसा भयो । यो फिल्मको सफलतापछि उनलाई फिल्म अफरको ओइरो लागेको छ । यस्तैमा उनी नयाँ फिल्म ‘पारस’मा अनुबन्धित भएकी छन् ।
शनिबार फिल्मकी निर्देशक कृषा चौलागाईंले जसितासँग लिखित सम्झौता गरेकी हुन् । यसअघि फिल्ममा अभिनेता निखिल उप्रेती अनुबन्ध भइसकेका छन् । तर, उनको जोडीको रुपमा जसिता देखिने छैनन् । फिल्ममा अर्का एक अभिनेतामा पनि हुनेछ, जोसँग जसिताको जोडी बाँधिने जनाइएको छ । ती अभिनेता सुशील श्रेष्ठ रहेको फिल्मवृतमा चर्चा छ ।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको पटकथा र संवाद भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन् । उनी बलिउडको चर्चित फिल्म ‘ग्याङ्ग्स अफ वासेपुर’का दुवै श्रृंखलाका लेखक हुन् । आगामी फागुनबाट छायांकन सुरु हुने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । ठूलो स्केलमा निर्माण गर्न लागिएको यो फिल्म एक्सनप्रधान हुने जनाइएको छ ।

