
प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’को फरक शैलीमा ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका निर्माताले शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सांगीतिक कन्सर्ट आयोजना गर्दै करिब ५ हजार दर्शकको उपस्थितिमा ट्रेलर सार्वजनिक गरेका हुन् । सम्भवतः कन्सर्टमार्फत ट्रेलर सार्वजनिक गर्ने यो पहिलो फिल्म हो ।
३ मिनेटभन्दा लामो ट्रेलरमा फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारिएको छ । फिल्मका मुख्य जोडी अबिषेक खड्का र आकृति राजभण्डारीलाई केन्द्रमा राखिएको ट्रेलरले उनीहरूको प्रेममा सामाजिक मूल्य-मान्यता र पारिवारिक अवरोधले सिर्जना गर्ने संघर्ष र टकरावलाई चित्रण गरेको छ । फिल्ममा ट्रान्सजेन्डरको विषयलाई समेटिएको ट्रेलरले संकेत दिन्छ ।
‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता रोमान्टिक फिल्ममार्फत दर्शकमाझ चिनिएका दिनेश राउतले ‘कुमारी’को निर्देशन गरेका हुन् । यसैमार्फत उनी ८ वर्षपछि लभस्टोरी फिल्ममा फर्किएका हुन् । यो फिल्ममा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सुकु शाह लगायतको अभिनय रहेको छ ।
बिनिश इन्टरटेन्मेन्ट, पिक्चर फ्रेम र केन्द्र मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । उनले यसअघि फिल्म ‘प्रकाश’ बनाएका थिए । केदार भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, विकास सुवेदीको लेखन, सुप्रिम पराजुलीको सम्पादन तथा उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।

