
अभिनेता अर्पण थापा करिब ६ वर्षपछि निर्देशनमा फर्किएका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘अ फ्रेन्च किस’को शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै निर्माण घोषणा गरिएको छ । पछिल्लो पटक सन् २०१९ मा हरर फिल्म ‘घर’ निर्देशन गरेका अर्पणले त्यसअघि ‘सुनकेशरी र ‘मुखौटा’ बनाएका थिए ।
ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा उनको जोडी अर्पणसँग बाँधिनेछ । गौरी मल्ल र आयशा तामाङको पनि फिल्ममा अभिनय रहने जनाइएको छ । माघ १२ गते सोमबारबाट चितवनका विभिन्न स्थानमा फिल्मको छायांकन हुनेछ ।
यस फिल्मको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह-निर्मातामा सुभाष बी. शाही रहेका छन् । फिल्ममा सुदीप बरालको छायांकन र दीपक बज्राचार्यको संगीत रहनेछ । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइनको जिम्मा लिएको फिल्मलाई सन् २०२६ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । शीर्षकले युवापुस्ताको प्रेमकथामा फिल्म आधारित रहने संकेत गर्छ ।

