Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रियल सुपरस्टार’को ट्यागबारे पल भन्छन्, ‘मेरो सहमति छ’

फिल्मीखबर, काठमाडौं, 2026/01/21

paul shah

 

नेपाली फिल्म क्षेत्रमा कलाकारलाई कुनै न कुनै ट्याग दिने प्रचलन नै बनिसकेको छ । महानायकदेखि मेगास्टार, सुपरस्टार, एक्सन स्टार जस्ता ट्याग ‘बुक’ भइसकेका छन् । यस्तैमा अब अर्को ट्याग जन्मिएको छ, ‘रियल सुपरस्टार’ । यो ट्याग अभिनेता पल शाहले पाएका हुन् । उनको नयाँ फिल्म ‘आ बाट आमा’को ट्रेलरमा उनलाई उक्त ट्याग दिइएको छ ।

बुधबार काठमाडौंमा आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पललाई ‘रियल सुपरस्टार’को ट्यागबारे सोधिएको थियो । तर, उनले यसबारे आफूलाई ट्रेलर हेर्नुभन्दा अगाडि थाहा नभएको बताए । उनले भने, ‘मैले पनि ट्रेलर हेरेपछि मात्रै थाहा पाएको हुँ । यो ट्याग दिइँदैछ भन्ने मलाई थाहा थिएन । मलाई किन यो ट्याग दिइयो भन्ने कुरा मेकरलाई बढी थाहा होला ।’

फिल्मको ट्रेलरमा आफूलाई ‘रियल सुपरस्टार’ लेखिएकोबारे पल अनभिज्ञ भए पनि, उनलाई मेकरले दिएको उक्त ट्यागप्रति कुनै आपत्ति छैन । यो ट्यागमा तपाईंको सहमति छ कि आपत्ति ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मेकरको सहमतिमा मेरो पनि सहमति छ ।’ यो बयानले उनले आफूलाई ‘रियल सुपरस्टार’ स्वीकार गरेको देखाउँछ ।

कोभिडको समयमा एक संस्थाले पललाई ‘रियल हिरो’को उपाधि दिँदै सम्मान गरेको थियो । अब उनले ‘रियल सुपरस्टार’को नयाँ ट्याग पाएका छन् । तर, यो ट्यागले एउटा प्रश्न खडा गरेको छ- ‘के यसअघि कलाकारहरूले पाएको ‘सुपरस्टार’को ट्याग फेक थियो ?’ नभए ‘रियल’ शब्द थपेर ‘सुपरस्टार’को ट्याग दिनुको अर्थ के हो ? यसबारे मेकरले स्पष्ट पार्न आवश्यक देखिन्छ ।