‘गजनी’ भिलेनको रूपमा परिचित भारतीय अभिनेता प्रदीप रावतका लागि नेपाल पानीपँधेरो जस्तै बनेको छ । उनी पछिल्लो दुई वर्षमा ५–६ पटक नेपाल आइसकेका छन् । उनको नेपाल आगमन प्रायः नेपाली फिल्मको छायांकन र प्रवर्द्धनमा केन्द्रित हुने गरेको छ । ‘ह्रस्व दीर्घ’मार्फत नेपाली फिल्ममा डेब्यु गरेका उनको अर्को फिल्म ‘आ बाट आमा’ माघ १६ गतेदेखि प्रदर्शन हुँदैछ ।
फिल्म रिलिजका लागि अब एक साता बाँकी रहँदा प्रदीप पुनः नेपाल आएका छन् । मंगलबार श्रीमती कल्याणीको साथमा उनी काठमाडौं आइपुगेका हुन् । प्रदीपसँगै एउटै विमानबाट फिल्मकी मुख्य अभिनेत्री विपना थापा पनि नेपाल आएकी छन् । उनीहरू बुधबार काठमाडौंमा आयोजना हुने फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुनेछन् ।
काठमाडौंमा ओर्लिएसँगै प्रदीप र विपना फिल्मको प्रवर्द्धनमा जुटिसकेका छन् । मंगलबार साँझ सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रदीपले फेरि पनि नेपाली फिल्ममा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । उनले भारतीय फिल्ममा भिलेनको रूपमा आफ्नो छाप बनेको भए पनि ‘आ बाट आमा’मा निर्देशकले आफूलाई फरक भूमिकामा प्रस्तुत गरेकोमा खुसी व्यक्त गरे ।
उनले नेपाल आउँदा आफूलाई घरमा बसेको जस्तो महसुस हुने पनि बताए । नेपाल र भारत आमा एउटै रहेको बताउँदै उनले भने, ‘हिन्दुस्तान र नेपालको आमा एउटै हुन् । पशुपतिनाथ तपाईंहरूको जस्तै हाम्रो पनि इष्ट देउता हुन् । यसैले नेपाली र हामी एउटै रगतका हौं । मात्र बोर्डरले देश छुट्टिएको छ । मलाई नेपाल आउँदा आफ्नै घरमा बसेको छु जस्तो लाग्छ ।’
फिल्ममा प्रदीपले पल शाहको बुबाको भूमिका निभाएका छन् । उनकी श्रीमती बनेर विपना थापाले अभिनय गरेकी छन् । उनले दुवैको प्रशंसा गर्दै भने, ‘विपनाजी अद्भूत कलाकार हुनुहुन्छ । एकदमै सहयोगी पनि हुनुहुन्छ । पल शाह पनि राम्रो कलाकार हुनुहुँदो रहेछ । उहाँको भद्र र सालिन स्वभाव राम्रो लाग्यो । भावनात्मक रूपमा अभिनय गर्ने उहाँको शैली अझ मन पर्यो ।’
आमा-छोराको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्ममा प्रदीप, विपना र पलसहित साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, विशाल पहाडी, रवीन्द्र झा, रचना गौतम लगायतको पनि अभिनय रहेको छ । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माताको रूपमा छन् ।

