Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशा पनि चुनावी मैदानमा, काठमाडौं-५ बाट बनिन् उम्मेदवार

फिल्मीखबर, काठमाडौं, 2026/01/20

nisha adhikari

 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा अभिनेत्री तथा निर्मात्री निशा अधिकारी पनि उम्मेदवार बनेकी छन् । गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य रहेकी उनले काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनी यही क्षेत्रकी मतदाता हुन् । करिब डेढ दशकदेखि फिल्म क्षेत्रमा सक्रिय उनले पहिलो पटक संसदीय चुनाव लड्न लागेकी हुन् । 

निशाले उम्मेदवारी दिएको क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट प्रदीप पौडेल, नेकपा एमालेबाट ईश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सस्मित पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट कल्पना शर्मा लगायत चुनावी प्रतिस्पर्धामा छन् । यसअघिको निर्वाचनमा एमालेका पोखरेललाई ५ हजारभन्दा बढी मतले पराजित गर्दै प्रदीप त्यस क्षेत्रबाट निर्वाचित भएका थिए ।  

मानसिक स्वास्थ्य, उद्यमशिलता, पर्यटन, कृषि लगायतका विषयलाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा होमिएकी निशाले अबको १० वर्ष देश र जनताप्रति समर्पित भएर काम गर्ने बताएकी छन् । आफूले अहिलेसम्म राम्रो उम्मेदवारलाई भोट हाल्न नपाएको बताउँदै उनले महिला सशक्तिकरणका लागि पनि आफूले उम्मेदवारी दिएको बताइन् । 

सन् २००९ मा रिलिज भएको फिल्म ‘मिसन पैसा’बाट अभिनय करिअर सुरु गरेकी उनले अहिलेसम्म लगभग ३० वटा फिल्ममा काम गरिसकेकी छन् । उनी पछिल्लो पटक फिल्म ‘आँखा’मा देखिएकी थिइन्, जुन २०२४ मा रिलिज भएको थियो । सन् २०१७ मा आफ्नै लगानीमा फिल्म ‘झ्यानाकुटी’ समेत बनाएकी उनी अब यसको दोस्रो श्रृंखला निर्माण गर्ने तयारीमा छिन् ।