Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १ मा थुप्रिए फिल्म, ‘श्री बुकुरो’ पनि प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2026/01/19

Shree-Bukuro-Poster

 

यस वर्षको फागुन पहिलो साता सार्वजनिक विदाले भरिएको छ । ३ गते महाशिवरात्रि, ६ गते ल्याल्पो ल्होछार र ७ गते प्रजातन्त्र दिवसको विदा परेको छ । शनिबारबाहेक एक सातामै तीनवटा विदा परेपछि यतिबेला फागुन १ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्न निर्माताहरूबीच होडबाजी नै चलेको छ । अहिलेसम्म पाँचवटा फिल्मले उक्त मिति रोजिसकेका छन् । 

फागुन १ गते ‘लालीबजार’, ‘कल्ली’, ‘शिवांश’ र ‘बिगुल’ प्रदर्शन हुने तयारीमा छन् भने अब उक्त मितिमा अर्को फिल्म ‘श्री बुकुरो’ थपिएको छ । सोमबार निर्माण पक्षले स्केच पेन्टिङ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पारिवारिक कथाको संकेत गर्ने पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ । 

यो फिल्मलाई सुदीप भुपाल सिंहले निर्देशन गरेका हुन् । उनले यसअघि ‘माला’ र ‘रुद्रप्रिया’का निर्देशन गरेका थिए । पछिल्लो समय सामाजिक पारिवारिक फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेकाले ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई पनि दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् । उनका अनुसार यतिबेला फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रश्मी भट्ट लगायतको अभिनय छ । निर्देशक सिंह स्वयंको लेखन रहेको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । यसमा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन छ ।