.jpg)
अभिनेत्री रीमा विश्वकर्माले राजनीतिक यात्रा सुरू गरिसकेकी छन् । पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट राजनीतिमा होमिएकी उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा छिन् । घिसिङको पार्टी रास्वपामा समाहित हुने भएपछि उनलाई सामानुपातिक सूचीमा राखिएको थियो । पछि उज्यालो पार्टी रास्वपाबाट अलगियो । तर, रीमा भने त्यहीँ बसिन् ।
रास्वपाको दलित महिला क्लस्टरतर्फ पहिलो नम्बरमा रहेकी उनले आफू समानुपातिक सांसद बन्ने निश्चित देखिएपछि कुलमानको साथ छाडेको भन्दै यतिबेला उनको आलोचना भइरहेको छ । कतिपयले उनलाई अवसरवादीको संज्ञा समेत दिएका छन् । तर, उनले जनताको एकताको चाहनालाई मध्यनजर गर्दै आफू रास्वपामै बसेको बताएकी छन् ।
आइतबार रास्वपा कार्यालय पुगेकी उनले पत्रकारसँग भनिन्, ‘जनताको प्रतिनिधि पात्र भएपछि उचित समयमा देश र जनतालाई केन्द्रमा राखेर उचित निर्णय लिन सक्नुपर्छ । चाहे त्यो राजनीतिक संकटको बेला होस् वा नैतिक चुनौतीकै बेला किन नहोस् । त्यही कारण अहिले जनताको एकताको चाहनालाई मध्यनजर गर्दै मैले रास्वपाबाट राजनीतिक यात्रालाई निरन्तरता दिने निर्णय गरेँ ।’
उनले उज्यालो नेपाल पार्टीमार्फत आफूले जननेतृत्व लिने अवसर पाएकोमा कुलमानप्रति कृतज्ञता व्यक्त गरेकी छन् । भन्छिन्, ‘कुलमानजीप्रति कृतज्ञ छु कि उज्यालो नेपाल पार्टीमार्फत मैले जननेतृत्व लिने अवसर पाएँ । तर, यो अवसरलाई मैले अझै प्रमाणित गर्न बाँकी नै छ । र, योसँग आइलाग्ने सबै खालका चुनौतीलाई आत्मसात गर्न म तयार छु ।’
रास्वपामै बस्ने निर्णय गरेपछि रीमा यतिबेला पार्टीका हरेक गतिविधिमा संलग्न भइरहेकी छन् । सोमबार जनकपुरमा हुन लागेको रास्वपाको चुनावी सभामा पनि उनी सहभागी भएकी छन् । अब उनी देश दौडाहामा निस्कने तयारीमा छिन् । राजनीतिक यात्रा सुरू गरेसँगै उनको पहिरनदेखि बोल्ने शैलीमा समेत परिवर्तन आएको छ । अचेल उनी साडीमा बढी देखिने गरेकी छन् ।

