.jpg)
विगत २ वर्षयता फिल्मको असफलतासँग जुधिरहेका अभिनेता प्रदीप खड्काको खातामा अर्को फ्लप फिल्म थपिएको छ । त्यो फिल्म हो, ‘एक्लो’ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर गत पुष १७ गतेबाट एकल प्रदर्शनमा आएको यो फिल्मको व्यापार घरेलु बक्स अफिसमा हरिविजोग देखिएको छ । फिल्मले दुई सातामा ५० लाखको आँकडा पनि कटाउन सकेको छैन ।
प्रदर्शनको पहिलो १० दिनमा फिल्मले ४३ लाख २५ हजार ४९८ रुपैयाँ ग्रस व्यापार गरेको थियो । दोस्रो साता फिल्मको व्यापार झनै ध्वस्त रह्यो । फिल्मले दोस्रो सातामा ३ लाख ६९ हजार मात्र जोडेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार फिल्मको १७ दिनको व्यापार ४६ लाख ९५ हजार १८३ रुपैयाँ ग्रस छ ।
‘एक्लो’ साइफाइ विधामा बनेको नेपालको पहिलो फिल्म हो । तर, निर्माण पक्षले दर्शकलाई हलिउड फिल्म महसुस गराउन अंग्रेजी संवाद बढी प्रयोग गर्दा त्यसले व्यापारमा ठूलो असर गरेको देखिन्छ । दोस्रो साताबाट नेपालीमा सबटाइटल राखिए पनि त्यसले कुनै काम गरेन । अन्ततः फिल्म बक्स अफिसमा ‘डिजास्टर’ बनेको छ । यो फिल्ममा तीन करोडमाथि लगानी भएको छ ।
बोर्डले ‘एक्लो’सहित ‘परान’, ‘झरीपछिको इन्द्रेणी’ र वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को पनि माघ ३ गते शनिबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । जसमा ‘परान’ले १७ करोड ७७ लाख, ‘झरीपछिको इन्द्रेणी’ले १ करोड २० लाख र ‘दिमाग घोच्ने मान्छे’ले ३ लाख १२ हजार रुपैयाँ ग्रस व्यापार गरेको उल्लेख छ । यसमध्ये ‘परान’ मात्र व्यावसायिक रूपमा सफल भएको छ ।

