.jpeg)
प्रेम दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’को यतिबेला देशव्यापी सांगीतिक यात्रा भइरहेको छ । नेपालगन्जबाट सुरू भएको ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नामक कार्यक्रम शनिबार पोखराको लेकसाइडस्थित हल्लनचोकमा आयोजना गरियो, जहाँ करिब ७ हजार दर्शकको उपस्थिति रहेको थियो ।
कन्सर्टमा फिल्मका प्रमुख कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारी स्टेजमा देखा पर्दा दर्शकको हुटिङले पोखरा नै गुञ्जयमान बनेको थियो । उनीहरूले फिल्मको चर्चित गीत ‘डोको बुन्ने’मा नृत्य प्रस्तुत गर्दा दर्शकले पनि नाचेर साथ दिए । आकृति र अबिषेकले पोखरेली दर्शकको अभूतपूर्व मायाप्रति आभार प्रकट गर्दै ‘कुमारी’ हेर्न आग्रह समेत गरे ।
सोही कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’का सदस्यहरूले पनि विशेष प्रस्तुति दिएका थिए । उनीहरूले फिल्मका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ’ र ‘तिमी बिना’सँगै आफ्ना सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ गाएर दर्शकलाई मन्त्रमुग्ध बनाए । बिग मार्टको प्रस्तुति र पावर्ड बाईमा आयोजित यो कन्सर्टको स्थानीय व्यवस्थापन प्रचारले गरेको थियो ।
.jpeg)
कन्सर्टमा फिल्म र कलाकारप्रति पोखरेली दर्शकले देखाएको मायाले आफू पुलकित भएको निर्देशक दिनेश राउतले बताए । उनले स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै भने, ‘दर्शकको यो साथले फिल्मप्रति थप उत्साह जगाएको छ । मैले सधैँ दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर फिल्म बनाउँदै आएको छ । ‘कुमारी’लाई पनि उत्कृष्ट बनाउने कोसिस गरेको छु ।’
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित यो फिल्मको अब माघ ६ गते चितवन, १० गते काठमाडौँ र १७ गते झापाको दमकमा सांगीतिक कार्यक्रम हुने जनाइएको छ । माघ १० गते काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमा फिल्मको ट्रेलर समेत सार्वजनिक गर्ने तयारी निर्माण पक्षले गरेको छ ।

