
प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘रमिताको पिरती’को र्याप गीत ‘फोन नगर’ सार्वजनिक गरिएको छ । र्यापर कुशल पोखरेलको स्वर तथा शब्द रचना रहेको उक्त गीत माघे संक्रान्तिको दिन बुटवलमा आयोजित सांगीतिक कन्सर्टमार्फत सार्वजनिक गरिएको हो । कन्सर्टमा कुशलले प्रत्यक्ष रूपमा गीत प्रस्तुत गरेका थिए ।
गीतको भिडियोमा र्यापर कुशल स्वयं देखिएका छन् भने फिल्मकी मुख्य अभिनेत्री आना शर्मा पनि प्रस्तुत छिन् । भिडियोमा दीपिका तामाङको कोरियोग्राफी पृथक र आकर्षक देखिएको छ । प्रेम सम्बन्धबाट आजित पात्रको भावना र अनुभूतिलाई रोचक शैलीमा व्यक्त गरेको गीतले फिल्मकी मुख्य पात्र आनाको मनोदशालाई दर्शाएको छ ।
फिल्मको प्रचारका लागि निर्माण पक्षले बुटवलबाट सांगीतिक यात्रा सुरू गरिसकेको छ । फिल्मका निर्माता सागर लम्सालका अनुसार अब विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा कन्सर्ट आयोजना हुनेछ । सबै सहरका कार्यक्रममा आनासहित कुशल पोखरेल, समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकी लगायतले प्रस्तुति दिने जनाइएको छ ।
सुदिप्ताको निर्देशनमा बनेको यस फिल्ममा आनासहित समीर श्रेष्ठ, धीरज मगर, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले ल्हामो लगायतका कलाकारहरूले अभिनय गरेका छन् । गायक समीरको यो डेब्यु फिल्म हो । सुदिप्ता स्वयंको लेखन रहेको फिल्ममा शिशिर विशाङ्खेको डीओपी तथा सुनिल सिवाकोटीको सम्पादन छ । आना फिल्मको कार्यकारी निर्मातामा समेत छिन् ।

