Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भाइरल गोर्खे’को दोस्रो ट्रेलर : जब सौगातले मुक्काले भैँसी ढाले

फिल्मीखबर, काठमाडौं, 2026/01/17

Saugat Malla

 

माघे संक्रान्तिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘भाइरल गोर्खे’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको कथावस्तु, कमेडी पक्ष र अभिनेता सौगात मल्लको अभिनय निकै रूचाइएको छ । यसैले फिल्मले आगामी दिनमा व्यापारिक गति समात्नेमा निर्माण पक्ष आशावादी छ ।

यसैबीच, फिल्म रिलिजको दोस्रो दिन निर्माण पक्षले नयाँ ट्रेलर दर्शकमाझ ल्याएको छ । २ मिनेटभन्दा लामो ट्रेलरमा सौगातलाई टिकटक लाइभमा बसेको देख्न सकिन्छ । उनले जति प्रयास गर्दा पनि आफू भाइरल हुन नसकेको भन्दै अब विदेश जान लागेको बताउँदै गर्दा लाइभमा जय किशन बस्नेत जोडिएपछि उनीहरूबीच चर्काचर्की परेको छ । 

सौगातले निराश भावमा आफ्ना बाबुबाजेले देशका लागि ज्यान दिए पनि देशले आफूलाई केही दिन नसकेको भन्दै गुनासो गरिरहँदा जय किशनले उनलाई देशद्रोहीको संज्ञा दिन्छन् । उनले देशबाट नै निकाला गर्नुपर्छ भनेपछि सौगातले रिसमा मुक्का हान्दा छेउमै रहेको भैँसी भुइँमा बङ्लङ्गै ढल्छ । यो दृश्यसँगै सकिएको ट्रेलरले दर्शकमा फिल्मप्रति उत्कसुकता जगाएको छ । 

टिकटकमा भाइरल बन्न गर्ने संघर्ष र त्यसले पार्ने प्रभावको कथामा आधारित यस फिल्ममा सौगातको जोडी सृष्टि श्रेष्ठसँग बाँधिएको छ । पूर्वप्रेम जोडी समेत रहेका उनीहरूको फिल्ममा ‘लिपलक’ दृश्य समेत छ, जुन दर्शकलाई रोचक लाग्नेछ । बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, पवित्रा साकी (मिस पवी) लगायतको पनि फिल्ममा अभिनय रहेको छ ।

‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता फिल्मका निर्देशक निगम श्रेष्ठले ‘भाइरल गोर्खे’को निर्देशन गरेका हुन् । उनी स्वयंको कथा लेखन रहेको यस फिल्ममा अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माताको रूपमा छन् । फिल्ममा अमर महर्जनको छायांकन तथा बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्माको सम्पादन रहेको छ ।