Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द ब्लू लाइट’को ट्रेलरमा प्रेम, धोका र बदलाको कथा

फिल्मीखबर, काठमाडौं, 2026/01/16

Benisha Hamal, Arpan Thapa, Ayushman, Shristi

 

बलिराम चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘द ब्लू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पारेको छ । सस्पेन्स-थ्रिलर शैलीमा तयार पारिएको ट्रेलरमा प्रेम, धोका र बदलालाई केन्द्रमा राखिएको छ । 

ट्रेलरमा प्रेम नपाउँदा उत्पन्न हुने मानसिक तनाव र पात्रहरूबीचको अविश्वासलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । त्यही अविश्वासले कथामा द्वन्द्व, तनाव र रहस्य थप्दै लैजाने संकेत गर्छ । ट्रेलरमा हत्या, त्रास, कानुनी फन्दा र त्रिकोणात्मक प्रेमका प्रसंगहरू पनि समेटिएका छन् । दृश्य संयोजन, कलर टोन, साउन्ड, र ब्याकग्राउन्ड स्कोरले दर्शकमा थ्रिल पैदा गराउँछ । 

माघ १६ गतेबाट प्रदर्शन हुने यस फिल्ममा  बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायतको अभिनय रहेको छ । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । फिल्मलाई निर्देशक चौहान स्वयंले निर्माण गरेका हुन् भने सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, मोहक श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, एसडी योगीको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । यसमा बेनिशा हमाल र नरेन्द्र मैनाली कार्यकारी निर्माताको रूपमा छन् । बेनिशाले यो फिल्मको डिजिटल अधिकार समेत खरिद गरेकी छन् ।