
‘कारखाना’ फिल्मका निर्देशक अमरदीप सापकोटाले ८ वर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेका दुई फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’को शुक्रबार निर्माण घोषणा गरिएको छ । शीर्षकले दुवै फिल्म कमेडी र सामाजिक कथावस्तुमा बन्ने संकेत गर्छ । ‘कालकट्टी’को अर्थ अशुभ वा हानिकारक भन्ने हुन्छ ।
दुवै फिल्मको निर्माण रघुजी फिल्म्सले गर्नेछ, जसको नेतृत्व रघुनाथ सापकोटाले गरेका छन् । उनी रंग पत्रकार समेत हुन् । बर्षेनि ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को आयोजना गर्दै आएका उनले ‘सर्खारको सर’ जस्ता सिरियल पनि निर्माण गरिसकेका छन् । रघुनाथले केही वर्षअघि घोषणा गरेको फिल्म ‘चिलगाडी’ नबन्ने भएपछि उनी नयाँ फिल्मको निर्माणमा जुटेका हुन् ।
दुई फिल्ममध्ये ‘कालकट्टी’को छायांकन सबैभन्दा अगाडि हुनेछ । यही माघ अन्तिमबाट फिल्मको छायांकन सुरू गर्ने तयारी गरिएको छ । त्यसका लागि हाल प्रि-प्रोडक्सनको काम भइरहेको र कलाकार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माता सापकोटाले बताए । फिल्ममा स्थापित कलाकारहरूकै अभिनय रहने उनको भनाइ छ ।
‘कालकट्टी’को छायांकनको जिम्मा निसाल पौडेललाई दिइएको छ । उनले यसअघि ‘कल्ली’, ‘कौसीद’ जस्ता फिल्म खिचिसकेका छन् । भीम विष्टको संगीत रहने फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ । निर्माण पक्षका अनुसार दुई फिल्म फरक स्वाद र शैलीका हुनेछन् । दुवै फिल्मलाई आगामी वर्ष दर्शकमाझ ल्याउने तयारी गरिएको छ ।

