Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परिवर्तन’ : माई मेलामा प्रचारपछि अब कलेज धाउँदै सुशील र अञ्जना

फिल्मीखबर, काठमाडौं, 2026/01/16

SUSHIL SHRESTHA, ANJANA BARAILI

 

यही शुक्रबार (९ माघ)बाट प्रदर्शनको तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘परिवर्तन’को टिजर र ट्रेलरले दर्शकमा उत्सुकता बढाइरहँदा यसको निर्माण पक्ष ‘ग्राउन्ड लेभल’बाट प्रचार अभियानमा जुटेको छ । फिल्मका कलाकारहरूले पूर्वको ठूलो सहर मानिने झापामा पुगेर त्यहाँका मेला-महोत्सवदेखि कलेजमा फिल्मबारे दर्शकलाई जानकारी गराइरहेका छन् । 

हरेक वर्ष माघे सङ्‍क्रान्तिको अवसरमा झापाको कन्काई नदी किनारमा लाग्ने प्रसिद्ध माई मेलामा बिहीवार फिल्मका मुख्य जोडी सुशील श्रेष्ठ र अञ्जना बराइली सहभागी भएका थिए । त्यहाँ उनीहरूले दर्शकलाई फिल्म हेर्न निम्तो दिँदै ‘पाकेको चिउरी’ गीतमा नृत्य गरेर मनोरञ्जन प्रदान गरे । शुक्रबारबाट निर्माण पक्षले पूर्वमा कलेज केन्द्रित प्रचार अभियान पनि सुरू गरेको छ ।

एक्सनप्रधान टिजरपछि चर्चामा रहेको ‘परिवर्तन’को यसै साता सार्वजनिक ट्रेलरले दर्शकमा थप उत्साह पैदा गरेको छ । युट्युबमा ११ लाखभन्दा बढीले हेरिसकेको ट्रेलरलाई कमेन्ट सेक्सनमा प्रशंसाको ओइरो लागेको छ । प्रायःले सुशीलको एक्सनको प्रशंसा गरेका छन् भने मेकिङ, छायांकन, र ब्याकग्राउन्ड स्कोरको पनि सराहना भएको छ ।

विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशील र अञ्जनासहित करिश्मा मानन्धर, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, सिरु विष्ट, आशा पौडेल लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।