
अभिनेता आकाश श्रेष्ठ २ वर्षयता फिल्ममा मुख्य भूमिकामा देखिएका छैनन् । यो बीचमा ‘बगान’, ‘हर्ष’ जस्ता फिल्ममा केमियो भूमिका र थुप्रै म्यूजिक भिडियोमा काम गरे पनि उनले फिल्ममा कमब्याकका लागि राम्रो स्क्रिप्टको प्रतीक्षा गरिरहेको बताउँदै आएका थिए । अब उनले आफूले खोजेको जस्तै स्क्रिप्ट पाएका छन् । र, २ वर्षपछि नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।
उनले ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सन फिल्म बनाएका रुपेश तामाङको नयाँ फिल्मबाट कमब्याक गर्न लागेका हुन् । माघे संक्रान्तिको अवसर पारेर बिहीवार दुई पक्षबीच कागजी सम्झौता भएको छ । नाम तय हुन बाँकी रहेको यो फिल्म एक्सनप्रधान हुने जनाइएको छ । निर्देशक तामाङका अनुसार फिल्ममा आकाश यसअघि नदेखिएको अवतारमा प्रस्तुत हुनेछन् ।
आगामी फागुनबाट छायांकन सुरु हुने यस फिल्ममा सुमन गजमेरको लेखन रहेको छ । उनले यसअघि बाबु-छोरीको कथामा फिल्म ‘रंगी’ लेखेका थिए । केही दिनमा फिल्मको नाम, अन्य कलाकार र प्राविधिकहरूको बारेमा जानकारी गराइने निर्माण पक्षले बताएको छ । जुना फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण हुनेछ ।

