Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परिवर्तन’को ट्रेलरमा दर्शकले रुचाए सुशीलको एक्सन

फिल्मीखबर, काठमाडौं, 2026/01/15

SUSHIL SHRESTHA

 

पछिल्लो समय नेपालमा एक्सनप्रधान फिल्मको बाढी नै आइरहेको छ । करिब एक दशक मृतप्रायः रहेको यो जनरा ‘१२ गाउँ’को सफलतापछि फेरि निर्माताको रोजाइमा पर्न थालेको छ । यही क्रममा माघ ९ गते अर्को एक्सन फिल्म ‘परिवर्तन’ प्रदर्शन हुँदैछ । एक्सन-प्याक्ड टिजरपछि चर्चामा आएको यो फिल्मको यसै साता सार्वजनिक ट्रेलरले दर्शकमा थप उत्साह बढाएको छ ।

युट्युब रिलिजको तीन दिनमा ट्रेलरलाई ११ लाखभन्दा बढी भ्यूज प्राप्त हुनुले पनि फिल्मप्रति दर्शकको बढ्दो चासो र उत्साहलाई दर्शाउँछ । ट्रेलरलाई प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । युट्युबमा प्राप्त १२ सयभन्दा बढी कमेन्टमा अधिकांशले सुशील श्रेष्ठको एक्सनको प्रशंसा गरेका छन् । कतिले साउथ र बलिउड लेभलको एक्सन रहेको भन्दै फिल्म सफल हुने ठोकुवा गरेका छन् ।

ट्रेलरमा फिल्मको एक्सनसहित पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । सुशील श्रेष्ठलाई केन्द्रमा राखिएको ट्रेलरले सत्ता मोह र युवा विद्रोहको कथामा फिल्म बनेको प्रस्ट पार्छ । उच्च स्तरको मेकिङ, सशक्त एक्सन दृश्य र प्रभावशाली ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई आकर्षक बनाएको छ । यसैले दर्शकले पनि ट्रेलरप्रति उत्साह व्यक्त गरेका छन् ।

विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशीलसहित करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, सिरु विष्ट, आशा पौडेल लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।