Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा दयाहाङ, सौगात र बल्छी धुर्बेबीच प्रतिस्पर्धा

फिल्मीखबर, काठमाडौं, 2026/01/15

three movie

 

गत मंसिरदेखि नेपाली फिल्मको व्यापारमा खडेरी नै देखिएको छ । मंसिर र पुषमा एक दर्जन हाराहारी फिल्म रिलिज भए पनि कुनैले लगानी सुरक्षित गर्न सकेनन् । यो निराशाजनक अवस्थाबीच माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट तीन फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ एकैसाथ प्रदर्शनमा आएका छन् । यी तीनवटै फिल्म सामाजिक कथामा आधारित छ । 

तीन फिल्मलाई देशभरका हलले सन्तुलित रूपमा शो विभाजन गरेका छन् । ‘मिरमिरे’को १३०, ‘गोबर गणेश’को ११२ र ‘भाइरल गोर्खे’को देशव्यापी शो १०७ वटा छ । तर, उपलब्ध शोमा तीनवटै फिल्मको टिकट बुकिङको अवस्था दयनीय देखिएको छ । यस्तोमा यी तीन फिल्मलाई व्यापारिक गति लिन ‘वर्ड अफ माउथ’मा भर पर्नुपर्ने देखिन्छ ।

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, शाइसा गौचन (बाल कलाकार) लगायतको अभिनय रहेको छ । दयाहाङ र प्रकाशले सहकार्य गरेको यो पहिलो फिल्म हो । बाबु-छोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

निगम श्रेष्ठको निर्देशनमा बनेको ‘भाइरल गोर्खे’मा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतले अभिनय गरेका छन । फिल्मले सामाजिक सञ्जालमा भाइरल बन्ने मोह र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई कथाको केन्द्रमा राखेको छ । मंगलबार काठमाडौंमा गरिएको प्रिमियरमा कमेडी पक्ष र सौगातको अभिनयको प्रशंसा भएको थियो ।

त्यस्तै, ‘गोबर गणेश’लाई हास्य कलाकारको रुपमा परिचित मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका हुन् । उनी स्वयंको मुख्य भूमिका रहेको यस फिल्ममा वर्षा सिवाकोटी, निर्मल शर्मा, पदम तामाङ, पुजन घिमिरे (पुकु), विनोद न्यौपाने, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ लगायतको पनि अभिनय छ ।