
यस्तो लाग्छ, मानौं टिकटकरहरूका लागि फिल्ममा भित्रने यो ‘शुभ समय’ हो । टिकटकबाट ‘नेम-फ्रेम’ हासिल गरेका चर्चित अनुहारहरूको यतिबेला फिल्ममा प्रवेश गर्ने लहर नै चलिरहेको छ । गरिमा शर्मादेखि सनिशा भट्टराई, मिस पवी, कुल ब्वाय लगायतका ‘टिकटक स्टार’ले फिल्ममा आफ्नो भाग्य अज्माइसकेका छन् । तर, व्यावसायिक सफलता एकाधले मात्रै पाएका छन् ।
टिकटकबाट फिल्ममा आउने कलाकारहरूको भीडमा यस वर्ष स्मारिक ढकाल पनि थपिएकी छन् । उनको डेब्यु फिल्म ‘मुगलान’ पुष १० गते प्रदर्शन भएको थियो । २ दशकअघिको चर्चित फिल्मको नाम सापटी लिएर निर्माण गरिए पनि यो फिल्मले स्मारिकाको एउटा टिकटक भिडियोमा आउने ‘भ्यूज’ जति पनि कमाइ गर्न सकेन । यो फिल्म यस वर्षको ठूलो ‘डिजास्टर’मध्ये एक बनेको छ ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकमा फिल्मको व्यापार ७ लाख पनि छैन । फिल्मले २४०० वटा टिकट बिक्री गर्दै ६ लाख ३१ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । यसबाट वितरकको कमिसन, भ्याट र स्थानीय कर काटेर आउँदा निर्माताले २ लाख पनि पाउँदैनन् । यो फिल्ममा लगानी डेढ करोडमाथि भएको छ । अर्थात् सबै लगानी ‘स्वाहा’ भएको छ ।
फिल्म रिलिज हुँदै गर्दा स्मारिकाको टिकटक क्रेज हलमा देखिन सक्ने अपेक्षा गरिएको थियो । तर, उनका टिकटकका फलोअर्सले फिल्म नै हेरिदिएनन् । न त उनको अभिनय रुचाइयो । स्मारिकाका लागि ‘मुगलान’ सिर्फ हिरोइन बन्ने सपना पूरा गर्ने माध्यम मात्र बन्यो । तर, फिल्म फ्लप भए पनि उनलाई चिन्ता छैन । उनका टिकटक फिल्मभन्दा बढी चलेका छन्, त्योभन्दा अरू के चाहियो ?

