
वितरकको रूपमा परिचित रोहित कट्टेलले पछिल्लो समय फिल्ममा लगानी पनि गरिरहेका छन् । फिल्म ‘कृष्ण लीला’बाट निर्माणमा हात हालेका उनले त्यसपछि ‘बिहे पास’ बनाए । भोलि बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मिरमिरे’का पनि उनी लगानीकर्तामध्ये एक हुन्। यसको देशव्यापी वितरण उनी स्वयंको कम्पनी आरआर फिल्म्सले गर्दैछ ।
रोहित ‘मिरमिरे’मा आफूलाई लगानी गर्न कथाले प्रेरित गरेको बताउँछन् । भन्छन्, ‘निर्माणका हिसाबले यो मेरो तेस्रो फिल्म हो । जब मलाई निर्देशक यम शेर्पाले फिल्मको कथा सुनाउनुभयो, मलाई एकदमै मन पर्यो । समय सान्दर्भिक पनि लाग्यो । एउटा राम्रो कथामा फिल्म निर्माणका लागि अफर आउँदा किन सहकार्य नगर्ने भन्ने भएर लगानी गरेको हुँ ।’
बाबु र छोरीबीचको भावनात्मक सम्बन्धको कथाले आफूलाई बढी छोएको उनले बताए । निर्माता र वितरकको रूपमा राम्रो फिल्म दर्शकमाझ ल्याउनु आफ्नो दायित्व पनि रहेको बताउँदै उनले भने, ‘यो हामी सबै नेपालीको साझा कथा हो । घरघरको कथा हो । हामी धेरै नेपालीले भोगेको, देखेको र सुनेको कथा हो । त्यसैले मलाई सुन्न बित्तिकै यो कथा एकदमै मन परेको थियो ।’
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतको अभिनय रहेको छ । फिल्मले मुख्य रूपमा बाबु-छोरीबीचको सम्बन्ध र त्रिकोणात्मक प्रेमकथालाई केन्द्रमा राखेको छ ।

