अभिनेता अरुण क्षेत्री र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘हन्टर’को छायांकन सकिएको छ । दुई चरणमा गरी ४५ दिनमा फिल्मको सम्पूर्ण छायांकन पूरा भएको हो । फिल्मको अधिकांश छायांकन पश्चिम नेपालको महेन्द्रनगर आसपासका क्षेत्रमा गरिएको छ । यस फिल्ममा अरुण एक्सन अवतारमा देखिनेछन् ।
जीवन सिंहले फिल्मको निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशन हो । फिल्मको लेखक र सम्पादक पनि सिंह स्वयं हुन् । उनले वास्तविक घटना र पात्रबाट प्रभावित भएर फिल्म बनेको बताएका छन् । तर, वास्तविक पात्रको कथा भए पनि त्यसलाई फिक्सनाइज गरिएको उनको भनाइ छ । उनका अनुसार फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ ।
फिल्ममा अरुण र गरिमासहित प्रकाश शाह, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारी लगायतको पनि अभिनय रहेको छ । कृष्ण थापाको डीओपी रहेको फिल्ममा शुक्रराज साहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी तथा बाबुल गिरी (धनबहादुर)को संगीत छ ।
ट्राइडेन्ट कन्सेप्टसँगको सहकार्यमा क्याच कक इन्टरटेनमेन्टले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा रोयल भिमसेन रहेका छन् । पोस्टर डिजाइनरको रुपमा परिचित उनले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् । फिल्मको निर्माताहरूमा ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट रहेका छन् भने सह-निर्माता मनिष चन्द हुन् ।

