
सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति र त्यसको सकारात्मक–नकारात्मक प्रभावलाई मुख्य कथावस्तु बनाएर निर्माण भएको फिल्म ‘भाइरल गोर्खे’ माघे संक्रान्तिको अवसर पारेर भोलि बिहीबारबाट प्रदर्शनमा आउँदैछ । देशभरका हलहरूमा अग्रिम टिकट बुकिङ खुला भइसकेको अवस्थामा मंगलबार साँझ काठमाडौंमा फिल्मको प्रिमियर आयोजना गरिएको थियो ।
फिल्मका मुख्य जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठसहित पूजा शर्मा, सिसन बानियाँ, प्रमोद अग्रहरी, जयकिशन बस्नेत लगायतका कलाकारहरू प्रिमियरमा उपस्थित थिए । सौगात दौरा-सुरुवालमा ठाँटिएर पुगेका थिए भने सृष्टिले नेवारी पहिरन लगाएकी थिइन् । दुवैले सल्लाह गरेरै पहिरन छनोट गरेका थिए । पूर्व प्रेमजोडी समेत रहेकाले प्रिमियरमा उनीहरू नै आकर्षणको केन्द्र बने ।
प्रिमियरमा फिल्म हेरिसकेपछि अधिकांशले सौगातको ‘कमिक टाइमिङ’ र अभिनयको खुलेर प्रशंसा गरे । फिल्ममा उठाइएको विषयवस्तुको पनि निकै सराहना भयो । सामाजिक सञ्जालमा भाइरल बन्ने मोह र त्यसले पार्ने प्रभावलाई फिल्ममा मनोरञ्जनसहित सशक्त ढंगले देखाइएको भन्दै सबैले एकपटक फिल्म हेर्न दर्शकलाई आग्रह गरे ।
अभिनेत्री पूजा शर्माले ‘भाइरल गोर्खे’ मनोरञ्जनसहित सन्देशमुलक फिल्म बनेको प्रतिक्रिया दिइन् । ‘मलाई टिजर रिलिज भएदेखि नै फिल्म हेर्ने एकदमै इच्छा थियो । प्रिमियरमा निम्तो मिलेसँगै हेर्न आइहालेँ । फिल्म साह्रै राम्रो बनेको छ । सौगात दाईको काम उत्कृष्ट छ । सृष्टि दिदीले पनि राम्रो गर्नुभएको छ । एकपटक फिल्म हेर्न सबैलाई अनुरोध गर्छु,’ उनले भनिन् ।
चर्चित भ्लगर सिसन बानियाँले ‘भाइरल गोर्खे’ हेरेर आनन्द मिलेको बताए । उनले भने, ‘फिल्मले उठाएको विषय राम्रो छ । पछिल्लो समय भाइरल बन्ने दौडमा आफूलाई नै असर पुर्याउने खालका क्रियाकलापहरू भइरहेका छन् । ती कुरालाई फिल्ममा मनोरञ्जनसहित सन्देशमुलक शैलीमा देखाइएको छ । फिल्म हेर्दा दर्शकले केही फरक महसुस गर्नेछन् ।’
प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेपछि सौगात र सृष्टि प्रफुलित मुद्रामा देखिएका थिए । आफूहरूको मिहिनेतको प्रतिफल सुन्दर निस्किएको भन्दै उनीहरूले खुसी व्यक्त गरे । निर्देशक निगम श्रेष्ठले पनि प्रिमियरमा मिलेको प्रतिक्रियाले आफूलाई उत्साहित तुल्याएको बताउँदै दर्शकलाई पनि फिल्म मनपर्ने दाबी गरे ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यस फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल, पवित्रा साकी (मिस पवी) लगायतको पनि अभिनय रहेको छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर फिल्मका निर्माता हुन् ।

