Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दार्जिलिङमा गरियो प्रशान्त तामाङको अन्त्येष्टि

फिल्मीखबर, काठमाडौं, 2026/01/13

prashant tamang

 

गायक तथा अभिनेता प्रशान्त तामाङको अन्त्येष्टि गरिएको छ । आइतबार बिहान कार्डियक अरेस्टका कारण दिल्लीमा निधन भएका उनको मंगलबार जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार दाहसंस्कार गरिएको हो । उनको अन्त्येष्टिमा पत्नी मार्था एली भावविह्वल देखिएकी थिइन् भने त्यहाँ सयौँको संख्यामा नेपाली भाषीको उपस्थिति रहेको थियो । 

आइतबार दिल्लीको दीनदयाल अस्पतालमा पोस्टमार्टम गरेपछि प्रशान्तको पार्थिव शरीरलाई सोमबार अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ पुर्‍याइएको थियो । दार्जिलिङको चौरास्तामा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौंको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभाका क्रममा एक सांगीतिक समूहले उनका चर्चित गीतहरू प्रस्तुत गर्दै उनीप्रति सम्मान अर्पण गर्‍यो ।

प्रशान्तको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुःख व्यक्त गरेका छन् । सोमबार तामाङकी श्रीमती मार्था एलीलाई पठाएको शोक पत्रमा उनले प्रशान्तको निधनले अपूरणीय क्षति भएको भन्दै उनको गायन र अभिनय कलाको प्रशंसा गरेका छन् । यसअघि भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्तको निधनप्रति दुःख व्यक्त गरेकी थिइन् । 

४३ वर्षको उमेरमा निधन भएका प्रशान्तले ‘मन साइँली’, ‘जाउँला रेलैमा सरर’, ‘सिरिमा सिरी बतासै चल्यो’, ‘अरे क्यानम्’, ‘रातो रानी’, ‘असारे महिनामा’ जस्ता थुप्रै लोकप्रिय गीत गाएका छन् । उनले मुख्य भूमिकामा अभिनय गरेका ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता फिल्म पनि सफल छन् । उनी पछिल्लो पटक फिल्म ‘लडाइँ पहिचानको’मा देखिएका थिए ।