Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशान्तको निधनप्रति दुःख व्यक्त गर्दै नरेन्द्र मोदीले भने- ‘यो अपूरणीय क्षति हो’

फिल्मीखबर, काठमाडौं, 2026/01/13

narendra modi

 

गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले आफ्नो हस्ताक्षरसहित तामाङकी श्रीमती मार्था एलीलाई सोमबार पठाएको शोक पत्रमा प्रशान्तको निधनले अपूरणीय क्षति भएको भन्दै उनको गायन र अभिनय कलाको प्रशंसा गरेका छन् । 

उनले पत्रमा लेखेका छन्, ‘आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयले प्रशान्त तामाङ जीले मनोरञ्जनको दुनियाँमा आफ्नो लागि एक विशिष्ट स्थान बनाउनुभयो । दृढ सङ्कल्प र विशाल प्रतिभाको प्रतीक उहाँले देशभरका करोडौँ मन छुनु भयो । प्रशान्त तामाङजी अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।’

प्रशान्तको जीवन यात्राले युवाहरूलाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उल्लेख गर्दै उनले पत्रमा अगाडि लेखेका छन्, ‘यस कठिन घडीमा उहाँसँग बिताएका क्षणहरूको सम्झनाले परिवारलाई सान्त्वना प्रदान गर्नेछ । परिवारका सदस्यहरू र उहाँका असङ्ख्य प्रशंसकहरूलाई यो दुखद क्षति सहन सक्ने शक्ति र धैर्य प्रदान होस् ।’

प्रधानमन्त्री मोदीभन्दा अगाडि भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्तको निधनप्रति दुःख व्यक्त गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा प्रशान्तको मधुर स्वर र प्रेरणादायी यात्राले धेरैको जीवनमा छाप छाडेको बताउँदै कुनै समय कोलकाता प्रहरीसँगको सम्बन्धले प्रशान्तलाई बंगालमा विशेष प्रिय बनाएको उल्लेख गरेकी थिइन् ।

प्रशान्तको आइतबार बिहान कार्डियक अरेस्ट (मुटुको विद्युत सम्बन्धी गडबडी)का कारण दिल्लीमा निधन भएको थियो । सोही दिन दिल्लीको दीनदयाल अस्पतालमा पोस्टमार्टम गरेपछि सोमबार उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ पुर्‍याइएको थियो । उनको मंगलबार आफ्नै गाउँमा सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।