साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’को पहिलो गीत ‘कुन हावाले’ सार्वजनिक गरिएको छ । वियोगान्त भावको यस गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ । आफ्नो साथमा रहेको व्यक्ति अचानक टाढा भएपछिको छटछटी र पीडालाई गीतमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू अर्पण थापा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, र सृष्टि श्रेष्ठ देखिएका छन् । बेनिशा र अर्पणबीचको प्रेम र विछोडलाई केन्द्रमा राखिएको भिडियोमा बेनिशालाई अर्पणको यादमा तड्पिएको देख्न सकिन्छ । उनी गर्भवती समेत छिन् । भिडियो हेर्दा त्रिकोणात्मक प्रेमकथामा फिल्म आधारित रहेको अनुमान गर्न सकिन्छ ।
बलिराम चौहानको निर्देशनमा बनेको यस फिल्ममा महेश त्रिपाठी र सुरक्षा इटानी पनि मुख्य भूमिकामा छन् भने बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन् । फिल्मलाई निर्देशक चौहान स्वयंले निर्माण गरेका हुन् । भोलानाथ कटुवाल र रमन ग्रे सह-निर्माता रहेको फिल्ममा कार्यकारी निर्माताहरू बेनिशा हमाल र नरेन्द्र मैनाली हुन् ।
आगामी माघ १६ गतेबाट प्रदर्शन हुने यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, मोहक श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, एसडी योगीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहेको छ । फिल्मको यसअघि सार्वजनिक टिजरले दर्शकमा राम्रो प्रभाव छाडेको छ, जसमा द्वन्द्व, तनाव र रहस्यलाई थ्रिलर शैली देखाइएको छ ।

