
आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलर पूर्ण रूपमा एक्सनप्रधान देखिएको छ । अभिनेता सुशील श्रेष्ठलाई केन्द्रमा राखिएको ट्रेलरले सत्ता मोह र बदलाको कथामा फिल्म बनेको प्रस्ट पार्छ ।
ट्रेलरको सुरुवातमै एउटा संवाद छ, ‘रगतको खोला बगोस् या देश नै जलोस्, मलाई फरक पर्दैन । मलाई चाहिएको एउटै कुरा हो सत्ता ।’ यही संवादमार्फत निर्देशकले फिल्मको कथावस्तु दर्शकलाई बुझाउन खोजेको देखिन्छ । ट्रेलरमा देखिएको उच्च स्तरको मेकिङ, सशक्त एक्सन दृश्य र प्रभावशाली ब्याकग्राउन्ड स्कोरले फिल्मप्रति दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने दाबी गरे । उनले भने, ‘हामीले फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरेका हौं । एक्सनसँगै सामाजिक सन्देश बोकेको यो फिल्मले दर्शकलाई सन्तुष्ट बनाउनेमा विश्वस्त छौं ।’ सत्ताका लागि नेताहरू कुन हदसम्म जान सक्छन् भने कुरालाई फिल्ममा देखाइएको उनले प्रस्ट पारे ।
यस फिल्ममा सुशीलसहित करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, सिरु विष्ट, आशा पौडेल, आयुषा कार्की लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ भने शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका हुन् ।
दक्षिण भारतीय फिल्ममा साउन्ड डिपार्टमेन्टमा काम गर्दै आएकी एम. गीता गुरप्पा साउन्ड डिजाइनर रहेको यस फिल्ममा शिव ढकालको डिओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एसडी योगीको संगीत छ । फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्ने जनाइएको छ ।

