.jpg)
अभिनेत्री वर्षा राउतलाई अब भारतीय फिल्ममा देख्न पाइने भएको छ । उनले फिल्म ‘रिमझिम गिरे सावन’मार्फत बलिउडमा डेब्यू गर्न लागेकी हुन् । उनले यसै साता फिल्मको मुख्य भूमिकाका लागि निर्माण पक्षसँग कागजी सम्झौता गरेकी छन् । उनीसँग सम्झौता गर्न भारतबाट निर्देशकसहितको टिम काठमाडौं आएको थियो ।
फिल्ममा अनुबन्ध भएपछि वर्षाले आफ्नो नयाँ यात्रालाई लिएर उत्साह व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु । हिउँले भरिएको कठिन भूगोलमा छायांकन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरा लागि सिक्ने अवसर हो । बलिउडका कलाकार र त्यहाँको टिमसँग काम गर्न पाउनु मेरो लागि गर्वको कुरा हो ।’
दुर्गम पहाडी भूभागमा आधारित रहने यो फिल्मको छायांकन सिक्किमको लाचुङ गाउँमा गरिने जनाइएको छ । नेपाली समुदायको परिवेश समेटेर फिल्मले मृत्युदण्डको सजाय पाएकी एक सन्तानकी आमा (रिमझिम क्षेत्री)को सङ्घर्षपूर्ण कथालाई चित्रण गर्नेछ, जसमा रिमझिमको भूमिकामा वर्षाले अभिनय गर्नेछिन् । अर्थात् फिल्मको कथा उनीमा नै केन्द्रित हुनेछ ।
यस फिल्ममा बलिउडका कलाकारहरू आशिष विद्यार्थी, यशपाल शर्मा, सुब्रत दत्त र राजेश शर्मासहित कोलकाताकी कलाकार सुस्मिता बसुमताको पनि अभिनय रहने निश्चित भइसकेको छ । फिल्ममा बलिउडका एक चर्चित अभिनेतालाई पनि अनुबन्ध गर्ने तयारीमा निर्माण पक्ष छ, जसले ‘सावन’ पात्रको भूमिकामा अभिनय गर्नेछन् ।
बङ्गाली निर्देशक अर्नब पलले फिल्मको निर्देशन गर्नेछन् । यसअघि उनले ‘तान्त्रिक’ जस्तो क्राइम थ्रिलर र ‘मेघमल्लार’ जस्ता भावनात्मक कथा बोकेको फिल्म बनाइसकेका छन् । उनले ‘रिमझिम गिरे सावन’मा प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिलाले गर्ने भावनात्मक र साहसपूर्ण सङ्घर्षलाई पर्दामा उतारिने जानकारी दिए ।
फिल्मको पटकथा भेट्रान लेखक राकेश कुमार त्रिपाठीले तयार पारेका हुन् । यसमा असिम बोसको डिओपी, अर्घ्य कमल मित्रको सम्पादन र अतनु साहाको कला निर्देशन रहनेछ । नाङ एनी गोगोईले लाइन प्रोड्युसर र कस्ट्युम डिजाइनरको जिम्मेवारी सम्हालेको फिल्ममा नेपालबाट रामगोपाल तिमल्सिना र नृपेश रुपाखेती प्रोडक्सन म्यानेजरको रूपमा रहेका छन् ।

