.jpg)
सुपरस्टारको रुपमा परिचित प्रदीप खड्कालाई दुई वर्षयता व्यावसायिक सफलता मिल्न सकेको छैन । २०८१ सालमा प्रदर्शन भएको ‘पूजार सार्की’पछि उनका फिल्महरू लगातार असफल भइरहेका छन् । अब यो सूचीमा फिल्म ‘एक्लो’ पनि थपिने निश्चित देखिएको छ । ३ करोडमाथिको लगानीमा बनेको यो फिल्मले घरेलु बक्स अफिसमा ५० लाख पनि कमाउन सकेको छैन ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांक अनुसार ‘एक्लो’ले पुष २६ गते शनिबारसम्म ४३ लाख २५ हजार ४९८ रुपैयाँ ग्रस कमाएको छ । फिल्मको टिकट १३ हजार ११ वटा मात्र बिक्री भएका छन् । सोमबारसम्म फिल्मले बढीमा ४५ लाख कमाएको हुनसक्ने देखिन्छ । यसरी हेर्दा फिल्मको अब लगानी उठ्ने सम्भावना देखिँदैन ।
पुष ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले भने एक करोडको आँकडा पार गरेको छ । बोर्डको तथ्यांक अनुसार फिल्मले ३५ हजार ८४२ वटा टिकट बिक्रीबापत १ करोड १२ लाख ३८ हजार ९०४ रुपैयाँ ग्रस कमाएको छ । फिल्मको लागत ३ करोड हाराहारी रहेकाले यसले पनि अब लगानी उठाउने सम्भावना देखिँदैन ।
त्यस्तै, पुष १० गते प्रदर्शन भएको फिल्म ‘मुगलान’ले २ हजार ४०० वटा टिकट बिक्री गर्दै ६ लाख ३१ हजार ९४४ रुपैयाँ ग्रस कमाएको छ भने कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले १७ करोड ७४ लाख २२ हजार १९० रुपैयाँ ग्रस व्यापार गरेको छ । ‘परान’ यस वर्षको सर्वाधिक कमाउने फिल्म बनिसकेको छ । यो फिल्म अझै केही हलमा प्रदर्शनरत छ ।

